
काठमाडौँ । संघीय सरकारले श्रम बजारमा रहेका रोजगारी, तालिम तथा उद्यमशीलताका अवसरको सूचना एकै स्थानबाट उपलव्ध गराउने गरी डिजिटल पोर्टल सुरु गरेको छ ।
shramsansar.gov.np नामक यो सरकारी पोर्टलमा तीनै तहका सरकार, रोजगार खोजकर्ता, रोजगारदाता, तालिम प्रदायक, स्वरोजगार, तथा श्रम बजारका अन्य सरोकार भएका निकायसमेत आवद्ध हुन सक्ने गरी डिजाइन गरिएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको यो पोर्टलमा श्रम बजारसँग सम्बन्धित सम्पूर्ण सूचना तथा जानकारी प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।
१३६औँ अन्तरर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मन्त्रालयले ‘श्रम संसार’ पोर्टलको शुभारम्भ गरेको छ । यो पोर्टल सुरु गर्न आयोजित कार्यक्रममा श्रममन्त्री शरतसिंह भण्डारीले पोर्टलले पहुँच र भनसुनले रोजगारी पाइन्छ भन्ने भाष्य चिर्ने दाबी गरे । उनका अनुसार सरकारले सुरु गरेको यो पोर्टलमार्फत अब योग्यता र क्षमता भएका नागरिकले सहजै रोजगारी पाउने अवस्था सृजना हुनेछ ।
मन्त्रालयले निर्माण गरेको पोर्टलको प्रधानमन्त्री केपी शर्मा ओलीले भचुर्अल माध्यमबाट शुभारम्भ गरेका हुन् । सरकारले घोषणा गरेको ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ लाई प्रभावकारी कार्यन्वयन गर्न श्रम संसार पोर्टलले श्रम बजार सूचना प्रणालीमा सहयोगी हुने सरकारको भनाइ छ ।
के हो श्रम संसार पोर्टल ?
यो श्रम बजारसम्बन्धी सूचना प्रणाली श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको आधिकारीक सूचना प्रवाह गर्ने एउटा सामाजिक सञ्जाल हो । मन्त्रालयका अनुसार श्रम संसार राष्ट्रिय श्रम बजारमा रहेका रोजगारी, तालिम तथा उद्यमशीलताका अवसरको सूचना सहजै उपलब्ध गराउने उद्देश्यका साथ निर्माण गरिएको एक सूचना प्रणाली हो ।
यस प्रणालीमा तीनै तहका सरकार, रोजगार खोजकर्ता, रोजगारदाता, तालिम प्रदायक, स्वरोजगार, तथा श्रम बजारका अन्य सरोकार भएका निकायसमेत आवद्ध रहने भएकाले श्रम बजारसँग सम्बन्धित सम्पूर्ण सूचना तथा जानकारी प्राप्त गर्न सकिने छ ।
पोर्टल संघ तथा प्रदेश सरकारको समन्वयमा हरेक स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत सञ्चालन हुनेछ । यसको प्रयोगले देशभर रहेका रोजगारीका अवसरबारे जानकारी लिई सहजै आवेदन दिन सकिने छ । सीपमूलक तालिमबारे जानकारी लिन तथा सजिलै आवेदन दिन सकिने र स्वरोजगारसमेतले आफ्नो सीपको विज्ञापन गर्न सक्ने यस पोर्टलको विशेषता हो ।
पोर्टलमा निःशुल्क दर्ता तथा सञ्चालन प्रक्रियाको व्यवस्था गरिएको छ । श्रम बजार सम्बन्धित नीति, नियम तथा जानकारी पोर्टलमा उपलब्ध हुनेछ । मन्त्रालयले यसको सहज पहुँचका लागि यही वैशाखभित्र ‘आइओएस’ र ‘एन्ड्रोइड’ दुवैमा उपलब्ध मोबाइल एप्सको सुरुवात गर्ने जनाएको छ ।
पोर्टल सञ्चालन, अन्तरतह समन्वय तथा निजी क्षेत्रको आवद्धता सुनिश्चित गर्न आवश्यक नीतिगत तथा संस्थागत प्रबन्ध मिलाउने विषयमा भएका आगामी योजनाका बारे पनि मन्त्रालयले जानकारी दिएको छ । यसअघि सन् २०२३ मा कोशी प्रदेशमा विकास गरी प्रारम्भिक रूपमा विराटनगर, इटहरी र दुहबी नगरपालिकामा परीक्षण गरिएको थियो ।
कोशी प्रदेशका १३७ वटै स्थानीय तह यस प्रणालीमा आवद्ध भएका थिए । अब देशभरका ७५३ वटै स्थानीय तहलाई श्रम संसार पोर्टलमा समेटिएको छ ।