Odapalika - The Fourth Estate - चौथो अंग
डोटीका स्थानीय तहमा भैँसीदेखि बाख्रासम्म पाल्ने योजना, यस्ता छन् ९ पालिकाका ‘एक उत्पादन’

काठमाडौँ । आगामी आर्थिकवर्षबाट डोटीमा एक स्थानीय तह एक उत्पादन कार्यक्रम लागु गरिने भएको छ । 

कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले आगामी वर्ष जिल्लामा उक्त कार्यक्रम लागू गर्ने योजना बनाइएको बताएका छन् । 

प्रदेश सरकारको आग्रह अनुसार डोटीका ९ वटै स्थानीय तहमा आगामी आवदेखि कार्यक्रम लागू गरिने कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए । 

सानो लगानीमा धेरै कार्यक्रम समेट्दा कृषिमा सकारात्मक प्रतिफल नदेखिएकाले एउटै कार्यक्रममा बढी लगानी गर्दा प्रतिफल उल्लेख्य देखिने हुँदा यस्तो कार्यक्रम ल्याउने योजना बनाइएको बताइएको छ ।

सोहीअनुसार कृषितर्फ दिपायल सिलगढी नगरपालिका र केआइसिंह गाउँपालिकामा तरकारी खेती, शिखर नगरपालिका र आदर्श गाउँपालिकामा फलफूल खेती, पूर्वीचौकी गाउँपालिकामा भटमास, सायल गाउँपालिकामा आलु, बोगटान फुड्सिल गाउँपालिकामा बेसार र अदुवा (मसला बाली), जोरायल गाउँपालिकामा बासमती धान र बडीकेदार गाउँपालिकामा सुन्तला जातका फलफूलखेती कार्यक्रम लागू गरिने छ । 

भेटेरिनरीतर्फ दिपायल–सिलगढी नगरपालिका, शिखर नगरपालिका, केआइसिंह गाउँपालिका र पूर्वीचौकी गाउँपालिकामा भैँसीपालन र आदर्श, सायल, बोगटान फुड्सिल, जोरायल र बडीकेदार गाउँपालिकामा बाख्रापालन कार्यक्रम लागू गरिने भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update