काठमाडौं । बडादसैंको पाँचौ दिन आज देवी स्कन्धमाताको पूजा आरधना गरिँदैछ । कमलको फूलमा आशन गरेकी, सेतो वर्ण, चार हात भएकी, स्कन्दकुमारकी माता भएकीले उनलाई स्कन्दमाता भनिएको शास्त्रहरुमा उल्लेख छ ।
भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने उनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।
स्कन्दमाताका चार हात छन् । जसमा दायाँतर्फको माथिल्लो भुजामा भगवान स्कन्दलाई काखमा लिएकी छन् भने तल्लो हातमा कमलफूल र माथिल्लो हातले वरमुद्रा धारण गरेकी छन् । स्कन्दमाताको वाहन सिंह हो ।
ज्ञानशक्ति र कर्मशक्तिको सूचक भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुने धार्मिक विश्वास छ ।
स्कन्दमाताको प्रतिमा स्थापित गरेर गंगा जल या गोमूत्रले शुद्धीकरण गर्नुपर्छ । चौकोशमा चाँदी, तामा या माटोको घडामा जल भरेर त्यसमा कलश स्थापना गर्नुपर्दछ । सो चौकोशमा श्रीगणेश, वरुण, नवग्रह, षोडश मातृका (१६ देवी), सप्त घृत मातृकाको स्थापना गर्नुपर्दछ ।
त्यसपछि व्रत, पूजनको संकल्प लिनु पर्दछ । वैदिक एवं सप्तशती मन्त्रद्वारा स्कन्दमातासहित समस्त स्थापित देवताहरुको षोडशोपचार पूजा विधिद्वारा पूजा गर्नुपर्दछ ।
स्कंदमाताको पूजा गर्दा
या देवी सर्वभूतेषु माँ स्कंदमाता रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
सिंहासनगता नित्यं पद्माश्रितकरद्वया ।
शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी ।।
भन्ने मन्त्र उच्चारण गरिन्छ ।
पौराणिक मान्यताअनुसार तारकासुर नामको एक राक्षसले भगवान् ब्रम्हालाई प्रशन्न बनाउनका लागि कठोर तपस्या गर्यो । उसको कठोर तपस्याबाट प्रशन्न भएर ब्रम्हाले उसलाई दर्शन दिए ।
तारकासुरले ब्रम्हासँग अमरताको वरदान माग्यो । ब्रम्हाले तारकासुरलाई जन्म लिएपछि मर्नेपर्ने कुरा सम्झाए । तारकासुरले शिवजीका पुत्रको हातबाट मृत्युको वरदान मागे ।
उसलाई शिवजीको कहिल्यै विवाह नहुने र विवाह नभएपछि छोरा पनि नहुने विश्वास थियो । यसरी उसले मृत्युबाट बच्न खोजेको थियो ।
वरदान पाएपछि तारकासुरले जनतामाथि अत्याचार गर्न थाल्यो र मानिसहरुले शिवजीसँग गएर तारकासुरबाट मुक्ति दिलाउन प्रार्थना गरे ।
त्यसपछि शिवजीले पार्वतीसँग विवाह गरे र कार्तिकेय जन्मिए । कार्तिकेयले ठूलो भएर राक्षस तारकासुरको वध गरेका थिए भन्ने कुरा पुराणमा उल्लेख छ ।


