Odapalika - The Fourth Estate - चौथो अंग
७९ स्थानीय तह ५ दिनदेखि ठप्प, वास्तै गर्दैन कर्णाली सरकार !

काठमाडौँ । कर्णाली प्रदेशका स्थानीय तहका कर्मचारी ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१’ का विभेदकारी व्यवस्थाविरुद्ध काम ठप्प पारेर मुख्यमन्त्री कार्यालय अघि धर्नामा बसेको ५ दिन भएको छ । 

तर कर्णाली प्रदेश सरकारले भने आन्दोलनरत पक्षलाई वार्तामा वोलाएर समस्या समाधान गर्ने र पालिकाका काम संचालन गर्नेमा कुनै ध्यान दिएको छैन । 

गत बिहीबारदेखि आन्दोलनमा उत्रिएका कर्णालीका ७९ स्थानीय तहका करिब ३)०० कर्मचारीहरुले सोमबार (आज) पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेशसभा अगाडि धर्ना दिएका छन् । ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २)८१’ संशोधन गर्न बनेको विधेयक समेत विभेदकारी भएकाले त्यसलाई सच्याउन प्रदेश सरकारसहित प्रदेशसभा सदस्यहरुलाई दबाब दिँदै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

प्रदेश सरकारले विधेयक ल्याउँदादेखि स्थानीय तहका कर्मचारीहरुलाई वेवास्ता गरेको आरोप लगाउँदै उनीहरुले पटक–पटक असन्तुष्टि जनाउँदै आएका छन् । स्थानीय सेवा कर्मचारी सञ्जाल कर्णाली प्रदेश संयोजक विक्रम शाहीका अनुसार जुन पक्षका लागि नीति–नियम बनाइने हो, त्यो पक्षसँग छलफल, बहस गर्ने, सुझाव प्रदेश सरकारले लिएन । सरकारले स्थानीय तहका कर्मचारीलाई थाहा नदिइ विधेयक निर्माण गरेको उहाँको आरोप छ । स्थानीय तहका कर्मचारीहरु काम छाडेर आन्दोलनमा सहभागी हुन वीरेन्द्रनगरमा केन्द्रित भएपछि स्थानीय तहहरुलाई चालु आर्थिक वर्षको अन्त्यमा बजेट कार्यान्वयनमा समस्या देखिन थालेको छ । कार्यालयमा चाप बढ्दै जाँदा कर्मचारी आन्दोलनमा लागेपछि काम ठप्प भएको छ । 

विधेयकमा विभेदकारी दफा, उपदफा रहेकाले पटक–पटक आन्दोलन गरेर सरकारको ध्यानाकर्षण गराएपनि मुख्यमन्त्री यामलाल कँडेलको दबाबमा २०८१ असोज १५ गते बसेको प्रदेश सभा बैठकले विधेयक पारित गरेको थियो । 

कार्यान्वयनमा नआउँदै ऐन विवादित बनेपछि गत माघ महिनाभर स्थानीय तहका कर्मचारीहरुले आन्दोलन गरी मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका थिए । यद्यपि प्रदेश सरकारले गत असोज २९ गते स्थानीय सेवा ऐन जारी गरेको थियो । 

संशोधित विधेयकमा तृतीय तह, चौथो तह, पाँचौँ तह, छैटौँ तहलगायत कुनै पनि कर्मचारीका माग सम्बोधन नभएको कर्मचारीहरुले बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसदेखि प्रतिपक्ष दल माओवादीसहितले माग सम्बोधन हुनुपर्ने बताएपछि मुख्यमन्त्री कँडेल संशोधन गर्न सहमत भएका पनि थिए । 

सरकारले गत चैत १२ गते संशोधनसहितको विधेयक प्रदेशसभामा दर्ता ग¥यो । वैशाख २६ गते बसेको मन्त्रिपरिषद्ले सभामा दर्ता भएको संशोधित विधेयक फिर्ता लिने निर्णय गरेको थियो । फेरी जेठ २ गते प्रदेशसभामा पुनः संशोधित विधेयक दर्ता गराएको छ । यसरी सरकारले कहिले संशोधन गर्ने भनेर सभामा दर्ता गराउने त कहिले फिर्ता लिने गरे पनि निष्कर्ष भने निसक्न सकेको छैन । 

कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को संशोधन विधेयकमा आठ वटा बुँदा समेट्नुपर्ने उनीहरुको माग छ । मुख्यमन्त्री कँडेल सो ऐन संशोधन गर्न राजी देखिए पनि माग सम्बोधन हुन नसकेको स्थानीय सेवा कर्मचारी सञ्जाल कर्णाली प्रदेशका सह–संयोजक ओम प्रकाश नेपाली बताउँछन् ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update