Odapalika - The Fourth Estate - चौथो अंग
कालो सडकबाट जोडिए बागलुङ र जैमिनी नगरपालिका

काठमाडौँ । बागलुङको जैमिनी नगरपालिकामा अहिले ३ वटा सडकमा धमाधम कालोपत्र भइरहेको छ । नगरपालिकाको केन्द्र पुग्ने दुई सडक धमाधम कालोपत्र भइरहेको छ भने र कुश्मिसेराबाट सकुर्वा–ब्याडथला पुग्ने सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ । 

कालोपत्र गरिने तीनवटै सडकको लम्बाइ जम्मा पाँच किलोमिटर छ । तीनवटै सडकको लागत ८ करोड १८ लाख रुपैयाँ छ । जैमिनी नगरपालिका, सङ्घीय सरकार र प्रदेश सरकारको साझेदारीमा तीनवटा सडक एकसाथ कालोपत्र भइरहेको जैमिनी नगरपालिकाले जनाएको छ । बागलुङ र जैमिनी नगरपालिकालाई जोड्ने गरी टाकुरी खण्डमा १ करोड २६ लाख ६७ हजार लागतमा १ किमी सडक कालोपत्र भइरहेको छ । 

बागलुङ–१२ अमलाचौर र जैमिनी–१ कुश्सिेराको सिमानाको एक किमी सडक स्तरोन्नति सकेर कालोपत्र भइरहेको छ । उक्त सडक कालोपत्र भएपछि बागलुङ बजारबाट सिधै कुश्मिसेरा पक्की सडकबाट पुग्न सकिने छ । बागलुङ बजारबाट कुश्मिसेरा खण्डअन्तर्गत सो ठाउँबाहेक अन्यत्र कालोपत्र भइसकेको थियो ।  

उक्त सडक स्तरोन्नतिका लागि २०८० चैतमा गण्डकी प्रदेश सरकार, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको साझेदारीमा स्तरोन्नतिका लागि ठेक्का लगाइएको थियो । जैमिनी नगरपालिका–१ जैमिनीधामको कालीगण्डकी करिडोरबाट पालिकाको केन्द्र कुश्मिसेरासम्मको सडक धमाधम कालोपत्र भइरहेको उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा राष्ट्रिय राजमार्गसँग पक्की सडकले जोड्न एक किमी सडक कालोपत्र गरिएको छ भने थप एक किमी कालोपत्रको चरणमा पुगेको छ । जैमिनीधामबाट पहिलो खण्डको झण्डै एक किमी काम कालीगण्डकी करिडोरले कालोपत्रका लागि स्तरोन्नति सम्पन्न भइसकेपछि त्यहाँसमेत कालोपत्र गर्ने तयारीमा छ । निर्माण कम्पनीले ३ करोड २० लाखमा उक्त सडकको स्तरोन्नतिसँगै कालोपत्र गरिरहेको छ ।  

तीनवटै सडक चौडा पार्ने, पानी जमेको स्थानमा ढलान गर्ने, नाली निर्माण गर्ने र आवश्यक स्थानमा ग्यावियन जाली लगाउने कामपश्चात कालोपत्र गारिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update