Odapalika - The Fourth Estate - चौथो अंग
पूर्वमुख्यमन्त्रीको १ करोड बढी अकुत सम्पत्ति, अख्तियारले हाल्यो मुद्दा 

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै सोमबार मुद्धा दायर गरेको हो । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागसहित विशेष अदालतमा मुद्धा दर्ता गरेको हो ।  सोडारीले सार्वजनिक सेवाको पदमा रहँदा २०७४ माघ ७ देखि २०७९ माघ १० सम्मको अवधिमा आफ्नो हैसियत दुरुपयोग गरी गैरकानूनी रूपमा ठूलो परिमाणको सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ । 

सोडारीका आम्दानीका स्रोत पारिश्रमिक, बैंक ब्याज, कृषि आय, श्रीमती तथा छोराछोरीको पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता आदिबाट जम्मा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा मात्र रहेको पाइएको छ । 

तर सो अवधिमा सोडारीले जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन खर्च, छोराको विवाह खर्च, शेयर लगानी, चुनाव खर्च लगायतका शीर्षकमा कुल १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च गरेका थिए ।

कुल आय र व्ययको तुलना गर्दा सोडारीको स्रोत नखुलेको रकम १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा रहेको आयोगको दाबी छ । 

सोडारीले सार्वजनिक पदमा रहँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) र (२), दफा १६ को उपदफा (२), दफा २४, दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिमको कसुर गरेको अख्तियारको दाबी छ ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update