यी हुन् काँचो फलाम पिटेर परम्परागत विधिबाट विभिन्न खाले घरेलु हतियार तयार पार्ने दोलखाका पूर्ण बहादुर विक ।
दोलखा सुनखानीका पूर्णबहादुर अवसर खोज्दै काठमाडौ आइपुगे । ५६ वर्षको उमेरमा उनी हजुरबा र बाउले सिकाएको हतियार बनाउने परम्परागत पेशामै रमाइरहेका छन् ।
हजुरबाकै पालादेखि नै ह्याम्मर समाउने, काठका कोइला, भर्भराउँदो आगोको भुंग्रो र असिन पसिन भएर काँचो फलाम कुटेर विभिन्न खालका हतियारका रुप दिनु । पूर्ण बहादुरको दैनिककी हो यो ।
भक्तपुर चारदोवाटोबाट भित्र छिरेपछि नेपाल कोरिया मैत्री हस्पिटल पुग्नै लाग्दा बाटैबाट सुनिन्छ उनको आरनको ट्वाट्वाकट्वाक आवाज ।
पूर्णबहादुर खुकुरी, घास काट्न प्रयोग हुने घरेलु हतियार, मासु काट्न प्रयोग हुने हतियार, बन्चरो, कोदालो, चाँदेलगायतका सबैखाले घरेलु हतियार बनाउँछन् ।
फरक यति हो कि उनका हजुरबा र बाले दोलखामा छालाले बनेको भाटीलाई तान्थे । अहिले उनको फालम तताउने भाटी बिजुलीले चल्छ । आरनमा फलाम तताउन राखिएका कोइला बाल्न हातले हावा दिइरहनु पर्दैन ।
भाटीमा आनुधिकता बाहेक यो पेशामा सबै चिज उस्तै छ । उही आरन, उही फलाम, फलाम कुट्ने उस्तै हतियार र हतियारका उस्तै र उत्रै खाले साइज ।
परम्परागत पेशाहरु मासिएर आधुनिकताले गाँज्दै लगेको समाजमा यस्ता पेशा जोगाउने एकाध व्यक्तिमा पर्छन् पूर्णबहादुर । उनको आरन जति चल्छ, परिवारका सदस्यको जिविको पनि त्यही रफ्तारमा चल्छ ।
गहु्रंगो पेशा र हल्का कमाइकाबीच पनि फलाम कुटेर हतियारको आकार दिने परम्परागत पेश धानिरहेका छन् पूर्णवहादुर । आधुनिकताले गाँज्दै लगेको काठमाडौँ शहरमा फलाम कुट्ने उनको रहर होइन, वाध्यता हो ।
पूर्णबहादुरको यो परम्परागत कला हेरेपछि तपाईलाई चै खुकुरी बनाउन मन लाग्यो कि कोदालो ? जे बनाउन मन लागे पनि पूर्णबहादुरको यो परम्परा धान्ने लगाव र उनको सीप भने गज्जवको छ ।