Odapalika - The Fourth Estate - चौथो अंग
बल्ल संसद छिर्यो निजामती विधेयक, शिक्षाको पालो कहिले ?

काठमाडौँ । बहुचर्चित र बहुविवादित संघीय निजामती सेवा विधेयक अन्ततः प्रतिनिधिसभामा प्रवेश गरेको छ ।  राज्य व्यवस्था तथा शुसासन समितिका सभापति रामहरि खतिवडाले आजको बैठकमा विधेयकसहितको प्रतिवेदन बैठकमा पेस गरेका हुन् । 

विधेयकको नाम ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ छ । जेठ १४ गतेको बैठकमा नै पेस गर्ने तयारी गरिएको निजामती विधेयक विपक्षी दलहरूले बैठक चल्न नदिएपछि रोकिएको थियो ।  राज्य व्यवस्था तथा सुशासन समितिले गत जेठ २ गते सर्वसम्मत रुपमा विधेयक पारित गरेको थियो । 

विधेयकमा समितिबाट अवकाश उमेर ५८ बाट ६० वर्ष पु¥याउने, कुलिङ पिरियड २ वर्ष राख्ने व्यवस्था गरिएको छ । अहिले पनि निजामती कर्मचारी संगठनहरूले यी प्रावधान हटाउन माग गर्दै आएका छन् । 

कर्मचारीहरुको लामो आन्दोनलपछि निजामती सेवा विधेयक संसदमा पुगेपनि विद्यालय शिक्षा विधेयक भने कहिले संसद पुग्ने भन्ने टुंगो छैन । संसदीय समितिमा छलफलकै क्रममा रहेको यो विधेयक असार १५ भित्रमा पारित गरिसक्ने गरी सरकार र शिक्षक महासंघबीच सहमति  भएको छ । तर सहमति पछि पनि विधेयकका विभिन्न प्रावधानमा छलफल जारी रहेकाले समितिले फुल हाउसमा प्रतिवेदन पेश गरेको छैन । 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update