
काठमाडौँ । काठमाडौँ महानगर प्रहरी वल प्रमुखबाट निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको निर्णयविरुद्ध अदालतमा रिट दर्ता भएको छ ।
निलम्बित प्रमुख राजुनाथ पाण्डेले उचच अदालत पाटनमा गुरागाईंले निलम्बन गर्नेगरी गरेको निर्णय तल्काल कार्यान्वयन रोक्न र फैसला हुँदा बदर गर्न माग गरेका छन् ।
अदालतले यो रिटमा बुधवार सुनुवाई गर्ने जनाएको छ । गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा पाण्डेको नेतृत्वमा रहेको नगर प्रहरीको टोलीले गत चैत २१ मा अवरोध गरेका थिए । यही अभियोगमा पाण्डेलाई निलम्बन गरी छानविन अघि वढाइएपछि उनी अदालत पुगेका हुन् ।
निलम्बन अघि पाण्डेलाई गुरागाइँले स्पष्टिकरण सोधेका थिए । उनको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरिएको थियो । महानगरले घटनाबारे छानबिन गर्न प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा जाँचबुझ समिति बनाएर अध्ययन गरिरहेको छ ।
काठमाडौँ भ्यू टावरको नक्सा पास विवादपछि बिदामा बसेका गुरागाईं महानगरमा हाजिर हुन पाण्डे नेतृत्वको प्रहरीले अवरोध गरेपछि जनप्रतिनिधि र कर्मचारीले ताला फाडेर अधिकृतलाई हाजिर गराएका थिए ।