Odapalika - The Fourth Estate - चौथो अंग
वडामै गज्जवका योजना बनाउँछन् जनप्रतिनिधि

काठमाडौँ । बागलुङ नगरपालिका–१३ बलेवाको पैयुँपाटाले रैथाने धान संरक्षण गर्ने किसानलाई अनुदान दिने भएको छ । 

किसानको उत्पादनको आधारमा वडाले अनुदान कार्यक्रम घोषणा गरेको हो । वडा कार्यसमितिले निर्णय गरेर रैथानेका लागि तोकिएका पाँच थरी धानको उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो । 

आगामी आर्थिक वर्षको बजेटबाट प्रतिमुरी १ हजार रुपैयाँका दरले अनुदान दिइने वडाध्यक्ष नारायण शर्मा पौडेलले बताए ।  वडा समितिले रैथाने जातमध्येबाट अनादी, झिनुवा, रमनी, जर्नेली र आँगा जातको धान लगाउने किसानलाई वडाले अनुदान दिन लागेको हो । आगामी मङ्सिरमा किसानको खेतमै पुगेर धान भरेपछि नगद हातमा राख्ने गरी बजेट समेत विनियोजन गरिएको पौडेलले जानकारी दिए । 

एकै दिन धेरै किसानको धान थन्क्याउने अवस्था आइपरेमा वडा समितिले टोल विकास समितिलाई पनि काममा खटाउन सक्नेछ । लोपोन्मुख धान भएकोले जोगाउन यो विधि र नीति लागू गर्न लागेको उनले बताए । पहिलो चरणमा किसानलाई अनुदान दिन वडाले ५० हजार रुपैयाँ विनियोजन गरेको हो ।

यसअघि केही किसानले मात्रै परम्परागत धान उत्पादन गर्दै आएका छन् । हाइब्रिडले रैथानेको बीउ मासिन सक्ने अवस्था आएपछि संरक्षणका लागि पनि यो निर्णयमा वडा समिति पुगेको हो । यो निर्णयलाई नगरपालिकाले पनि गज्जबको भएको बताएको छ । 

वडा नं १३ ले १४० घरधुरी रहेको मुसुराबारीको दलित बस्तीमा प्रतिघर न्यूनतम ५ वटा सुन्तला र कागतीको बिरुवा लगाउनेलाई सहयोग पनि गरेको छ । चालु वर्षको ५० हजार रकमले बिरुवा किनेर किसानलाई दिएको हो । वडाले गत वर्षदेखिनै रसायनिक मल ढुवानीमा प्रतिकेजी २ रुपैयाँ अनुदान दिँदै आएको छ । 

पशुपन्छीको औषधि निःशुल्क वितरण, ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई नगर अस्पतालमा निःशुल्क औषधि उपचारको व्यवस्था पनि गराएको हो । यसबाहेक गर्भवतीले गर्भजाँच गर्न आउँदा हरेक पटक एक÷एक क्रेट अण्डा समेत दिने व्यवस्था गराएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १०:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update