Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेस सांसद खतिवडाले नै किन रोके संसदको छलफल ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका केही विपक्षी दलहरुले प्रतिनिधिसभामा निरन्तर विरोध गरेपनि सभामुख देवराज घिमिरेले पेलेर संसद चलाइरहेका छन् ।

रास्वपा सांसदहरु गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर भिजिट भिषा प्रकरणमा छानविन हुनुपर्ने भन्दै विरोध गरिरहेको छ । रास्वपाको यही विरोधकै बीचमा सभामुख घिमिरेले आजको प्रतिनिधिसभा बैठक अघि बढाए । र, उनले डा. अमरेश कुमार सिंहलाई बोल्न समय दिए ।

सभामुखबाट समय पाएपछि डा. सिंह रोष्टममा पुगे । त्यो बेलासम्म रास्वपा सांसदहरु बेल घेराउमा लागिसकेका थिए । तर, सभामुख सभा अघि बढाइरहेका थिए ।

यस्तैमा कांग्रेस सांसद रामहरि खतिवडाले आपत्ति जनाए । सभामुख घिमिरेले समय दिएपछि विनियोजन विधेयकका जुन जुन मन्त्रालयका विषयमा छलफल गर्न खोजिएको र ती मन्त्रालयका मन्त्री नभएको भन्दै सांसद खतिवडाले सभामुखको ध्यानाकर्षण गराए ।

सांसद खतिवडापछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि मन्त्री नआएको विषयमा आपत्ति जनाए । उनले पनि मन्त्रीहरु आएपछि मात्रै सम्बन्धित मन्त्रालयको छलफल अघि बढाउन आग्रह गरे ।

सांसदहरुको यस्तो आग्रहपछि सभामुख घिमिरेले मन्त्री सहभागी नभएका मन्त्रालयको छलफल कार्यसुचीबाट हटाइएको जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update