
काठमाडौँ । गुल्मीको रेसुङ्गा नगरपालिकाले सार्वजनिक जग्गाको पहिचान, नक्सा अद्यावधिक, लगतकट्टी तथा संरक्षणका लागि नापी विभागको समन्वयमा रेसुङ्गा नगरपालिका क्षेत्रको पुनः नापीलगायतका कार्य आगामी वर्षको प्राथमिकता भएको बताएको छ ।
नगर प्रमुख खिलध्वज पन्थीले नगरसभामा पेश गरकेो नीति तथा कार्यक्रममा यी विषयलाई प्राथमिकतामा राखिएको छ । नगरले सञ्चार नीति तर्जुमा गरी लागू गर्ने योजना बनाएको छ ।
नगरले हाउस नम्बरिङ्ग सहितको नगरपालिकाको एकीकृत डिजिटल प्रोफाइन निर्माण गर्ने, शान्ति सुरक्षालाई ध्यानमा राख्दै नगरपालिका भित्रका मुख्य–मुख्य नाका तथा वस्तीहरुमा थप सिसिटिभी जडान गर्ने बताइएको छ ।
प्रत्येक वडाका मुख्य तथा विशेषगरी पर्यटकीय स्थानमा निःशुल्क वाइफाइको व्यवस्था गरिने भन्दै नगरप्रमुख पन्थीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा नगरपालिकाको रोजगार सेवा केन्द्रलाई थप व्यवस्थित गर्दै वैदेशिक रोजगारीको श्रम स्वीकृृतिको नवीकरण, सहजीरकण तथा वैदेशिक रोजगारीका क्रममा हुने घाइते तथा मृत्युपश्चातका सहायता प्राप्तिका लागि आवश्यक सहजीकरण गरिने साथै श्रम र सीप प्रयोगका साथै श्रमको सम्मानको सचेतनामूलक अभियान सञ्चालन गर्ने उल्लेख छ ।
वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका वा ज्यान गुमाएका रेसुङ्गा नगरपालिकाभित्रका नागरिकलाई सङ्घीय सरकारसँगको समन्वयमा उद्धार तथा आवश्यक सहयोग गरिने उल्लेख छ ।
जिल्लाकै एक मात्र स्नातकोत्तर सम्मको अध्ययन हुने शैक्षिक धरोहर रेसुङ्गा बहुमुखी क्याम्पसको साख एवम् ख्याती कायम राख्न आगामी दिनमा समेत विद्यार्थी भर्ना अभियान लगायतका विधामा आर्थिक सहयोग उपलब्ध गराउने, विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलानको कार्य प्रारम्भ गरिएकोमा सरोकारवालासँगको व्यापक छलफल र विज्ञहरुको राय परामर्श समेतका आधारमा विद्यालय पुनःनक्साङ्कन गरी विद्यार्थी सङ्ख्या न्यून हुँदै गइरहेका विद्यालयहरुमा तह वा कक्षा घटाउने र समायोजन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
आमासँग उपमेयर कार्यक्रम मार्फत गर्भवती र सुत्केरी महिलालाई पोषण प्याकेज, सुत्केरी सेवाका लागि एकतर्फी यातयात खर्च र घरघरमा सुतेकरी सेवालाई निरन्तरता दिइने बताउँदै गर्भवती महिला लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
रेसुङ्गा नगरपालिकाभित्रका नागरिकलाई मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया सेवालाई यस पटक पनि निरन्तरता दिइएको । यस्तै कृषि तथा पशुपन्क्षीसँग सम्बन्धित कृषकहरुलाई प्रोत्साहन गरी रेसुंगा नगरपालिकालाई तरकारी, फलफूल, दुध, अण्डा र मासुमा आत्मनिर्भर बनाउनेतर्फ जोड दिइने उल्लेख छ ।
बाँदर तथा अन्य जङ्गली जनावरहरुबाट कृषि बालीको हानि हुन नदिन सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी नियन्त्रणका उपाय अवलम्बन गरिने बताइएको छ ।
जलवायु सुहाउँदो कृषिलाई प्राथमिकता दिँदै भाडगाउँ, अर्खले, सेउघा, भुवनपानी, बालकाटे, चेक्मी, गुरुङगाउँ, राङबास र पराल्मी लगायतका क्षेत्रलाई सुन्तला÷कागती जोनको रुपमा विकसित गरिने उल्लेख छ ।
नेपालमा पाईने विभिन्न प्रजातिका चराहरुमध्ये झण्डै ३० प्रतिशत प्रजातिका चराहरु रेसुङ्गामा पाइने तथ्य सार्वजनिक भएको अहिलेको अवस्थामा चरा अवलोकन पर्यटन प्रवर्धनका लागि वाईल्डलाईफ फोटोग्राफर सहितको अन्तर्राष्ट्रिय ख्याती प्राप्त विज्ञहरुसँग समन्वय गरी थप प्रचारप्रसार गरिने उल्लेख छ । औषधीय गुण भएका रेसुङ्गाका जडीबुटीको उत्पादन, बिक्रिवितरण र प्रवर्धनका लागि अध्ययनको प्रारम्भ गरिने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।