
काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले काभ्रेको महाभारत गाउँपालिकालाई सून्य बेरुजु कायम गरेको भन्दै सम्मान गरेको छ ।
महालेखको ६७औं वार्षिकोत्सव समारोहमा कार्यक्रममा सार्वजनिक लेखा समितिका सभापतिले गाउँपालिका अध्यक्ष अध्यक्ष कान्छालाल तामाङ्लाई सम्मानपत्र प्रदान गरे ।
महालेखाले सबैभन्दा कम बेरुजु गर्ने ७ वटा प्रदेशका ७ वटा स्थानीय तहलाई समेत सम्मान गरेको छ । प्रदेशगत रुपमा सबैभन्दा कम बेरुजु अंक कायम गर्न सफल ४ नगरपालिका र ३ वटा गाउँपालिका सम्मानित भएका छन् ।
सम्मानित हुनेमा कोशीबाट सोलुखुम्बुको शोलुदुधकुण्ड नगरपालिका, मधेशबाट रौतहटको इशनाथ नगरपालिका, बागमतीबाट काभ्रेको मण्डन देउपुर नगरपालिको, गण्डकीबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका, लुम्बिनीबाट अर्घाखाँचीको पाणिनी गाउँपालिका, कर्णालीबाट सल्यानको त्रिवेणी गाउँपालिका र सुदुरपश्चिमबाट अछामको पञ्चदेवल विनायक नगरपालिका छन् ।
महालेखा परीक्षकको कार्यालयले पहिलो पटक स्थानीय सरकारलाई उत्कृष्टताको आधारमा सम्मान गर्न शुरु गरेको छ । कार्यक्रमका सभामुख देवराज घिमिरेले स्थानीय सरकारमा लेखा समितिहरु कृयाशिल भइ बेरुजु फस्र्यौटमा तदारुकता देखाउनु पर्ने बताए ।
उनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन बनाएर वित्तीय व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न स्थानीय तहलाई सुझाव पनि दिए ।
महालेखा परीक्षक तोयम रायाले यस वर्ष गाउँपालिका राष्ट्रिय महासंघ नेपालको व्यवस्थापनमा २३ जिल्ला र ४ प्रदेशमा लेखा परीक्षण प्रवोधिकरण कार्यक्रमको सहजीकरण गरिएको बताए ।