
काठमाडौँ । शिक्षकहरुको एक महिना लामो आन्दोलन अन्त्य गर्न नेपाल शिक्षक महासंघले सरकारसँग ९ बुँदे सहमति गर्यो । सम्झौताको मुख्य बुँदा थियो १५ असार २०८२ भित्रमा विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने ।
कांग्रेस र एमालेका प्रमुख सचेतकहरुले लिखित रुपमै १५ असारभित्रमा विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने भनेर हस्ताक्षर पनि गरे । तर समयावधि सकिएको दिन विद्यालय शिक्षा त होइन, निजामती सेवा विेधयक भने पारित भयो ।
आफ्ना माग पुरा नभएपछि शिक्षक महासंघले शिक्षा मन्त्रालयमा धर्ना दिन थालेको छ । शिक्षामन्त्री रघुजी पन्तले प्रतिवद्धता गरेको अवधिमा विधेयक ल्याउन नसके पनि चाँडै ल्याउने आश्वासन दिएका छन् ।
दलका सचेतकले लिखितरुपमै प्रतिवद्धता जनाएको समय सकिएको दिन भने संसदको शिक्षा समितिमा विधेयकका विषयमा छलफल भइरहेको छ ।
समितिले आइतवार बिहान पनि यो विधेयकमा छलफल गर्यो । तर प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेको छैन ।
९ बुँदे सहमति
१) शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।
२) अस्थायी प्रकृतिका शिक्षक – राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने ।
३) प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने ।
४) आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।
५) स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।
६) सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।
७) नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।
८) नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।
९) निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने ।