Odapalika - The Fourth Estate - चौथो अंग
रेसुङ्गा र छत्रकोटका ४ किसानका तरक्की, ...अनि पाए पुरस्कार 

काठमाडौँ । गुल्मीको कृषि ज्ञान केन्द्रले व्यावसायिक कृषिकर्म गर्ने उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । केन्द्रले ४ विधामा उत्कृष्ट ४ कृषकलाई नगदसहित सम्मान गरेको हो । 

सम्मानित हुनेमा तरकारी विधामा रेसुङ्गा नगरपालिका–६ सिमाहाघाटस्थित नवोदय बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक रेणु सार्की, फलफूल विधामा धुर्कोट गाउँपालिका–२ पिपलधारास्थित मौरी तथा सुन्तला फर्मकी सञ्चालक रातादेवी खनाल छन् । 

यसैगरी च्याउ विधामा छत्रकोट गाउँपालिका–४ रुक्सेस्थित द–हिमालयन एग्रोफर्म नेपालका सञ्चालक कृष्णप्रसाद कँडेल र मौरी विधामा रेसुङ्गा नगरपालिका–८ स्थित रेसुङ्गा कृषि, पशुपन्छी तथा मौरीपालन फर्मका सञ्चालक विष्णुमाया श्रीसलाई सम्मान गरिएको छ । 

मौरी विधाबाट सम्मानित हुने श्रीसले मौरी गोला र घार बिक्रीमा  वािर्षक ५ लाख बराबरको कारोबार गर्दै आएको बताए । तरकारी विधामा उत्कृष्ट सार्कीले वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्मको कारोबार गर्ने गरेको बताइन् । 

फलफूल विधामा सम्मानित खनालले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेर वार्षिक करिब १५ लाख रुपैयाँसम्मको कारोबार गर्दै आएका छन् भने च्याउ विधामा सम्मानित कँडेलले वार्षिक करिब १४ लाख रुपैयाँसम्म कारोबार गर्ने गरेको बताएका छन् । 

रेसुङ्गा नगरपालिका–६ सिमाहाघाटस्थित नवोदय बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक रेणु सार्कीलाई यस वर्षको सर्वोकृष्ट कृषकको रुपमा नगद १० हजार र अन्य कृषकलाई ५ हजार रुपैयाँका दरले सम्मान गरेको हो । 
 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update