
काठमाडौँ । सिरहाको बरियारपट्टि गाउँपालिका वडा नम्बर ३ मा बसोबास गर्ने दलित बस्तीका विपन्नलाई लक्षित गरेर ग्यास सिलिण्डरसहितको चुलो वितरण गरिएको छ ।
वडाले एक लाख रुपैयाँ बजेट छुट्याएर विपन्नका लागि ग्यसा र चुल्हो बतिवरण गरिउको बताएको छ । चमार, डोम र साफी समुदायका १२६ घरलाई ग्यास चुलो, सिलिण्डर, पाइप र लाइटर प्रदान गरेको वडा वडाध्यक्ष विनोदकुमार यादव बताउँछन् ।
उनका अनुसार दैनिक ज्यालादारीमा गुजारा चलाउने दलित समुदायको चुलो धुँवामुक्त बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।
चमार टोलकी विन्दादेवी रामले ग्यास चुलो पाएपछि जीवनमै ठूलो राहत मिलेको बताइन् । वडाध्यक्ष यादवका अनुसार आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमका लागि बजेट छुट्याइएको छ । उक्त बजेटबाट मण्डल र मुखिया परिवारलाई चुलो वितरण गरिनेछ ।
यसअघि वडा कार्यालयले मुसहर बस्तीका ९९ घरपरिवारलाई पनि चुलो वितरण गरिसकेको छ ।