
काठमाडौँ । मुगुको सोरु गाउँपालिकाका बरिष्ठ लेखा अधिकृत कुमार प्रसाद उपाध्याय र लेखापाल बिमला ढकाललाई रकम भुक्तानी नगरको भन्दै स्थानीय व्यापारीले बन्धक बनाएर ज्यान मार्ने धम्की दिएका छन् ।
कर्मचारी हकहित संरक्षण मञ्चका अनुसार उनीहरुलाई स्थानीय व्यापारीले बन्धक बनाएर रकम भुक्तानी नगरे ज्यान मार्ने धम्की दिएका हुन् ।
यस विषयमा सोरुका जनप्रतिनिधिहरुले अनविज्ञता प्रकट गरे पनि कर्मचारीहरु भने असुरक्षाको कारण देखाएर आन्दोलित भएका छन् ।
आर्थिक वर्ष सकिने बेलामा स्थानीय व्यवसायीले पेश गरेका बिल भरपाइको भुक्तानी नआएको भन्दै कर्मचारीलाई बन्धक बनाएर ज्यान लिनेसम्मको धम्की आएको मञ्चका कर्णाली प्रदेश अध्यक्ष इश्वरबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार कर्मचारीले कमजोरी गरेको भए कानुन अनुसार कारवाही गर्ने अवस्था हुँदाहुँदै बन्धक बनाउने र ज्यान मार्नेजस्ता धम्की दिनु आपत्तिजनक हो ।
मञ्चले स्थानीय प्रशासन र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेतको ध्यानाकर्षण गराउँदै दोषीमाथि कारवाहीको मागसमेत गरेका छन् ।