
रौतहट । लम्पी स्किनका कारण रौतहटको चन्द्रपुरमा ५ वटा दुहुनो गाई मरेपछि रोगविरुद्ध निःशुल्क औषधि वितरण गरिएको छ ।
लम्पी स्किनको संक्रमण नियन्त्रणका लागि चन्द्रपुर नगरपालिकाले निःशुल्क औषधि वितरण गर्न थालेको हो ।
लम्पी स्किनले खासगरी उन्नत जातका गाई मरेपछि निःशुल्क औषधि वितरण गरिएको नगरपालिका पशु शाखाका प्रमुख डा. सुलभ चौधरीले जानकारी दिए । रोगबाट बचाउन हाल ४८ परिवारलाई निःशुल्क औषधि वितरण गर्ने लक्ष्य लिइएको उनले बताए ।
डा. चौधरीले औषधि लिनका लागि कार्यालयमा सम्पर्क राख्न किसानलाई आग्रह गर्दै हालसम्म नगर क्षेत्रका ५० भन्दा बढी पशुलाई संक्रमण भइसकेको जानकारी दिए । सुरुआती चरणमा चन्द्रपुर–८ मर्धरटोलका कृष्ण गौतम र चन्द्रपुर–२ का आइतेसिंह कुश्वारको गाई मरेका जनाउँदै उनले हालसम्म लम्पी स्किनका कारण ५ वटा गाई मरिसकेका बताए ।
अहिलेसम्म नगर क्षेत्रका ४९ वटा गाई र एउटा भैंसीमा रोगको संक्रमण देखापरेको डा. चौधरीले जानकारी दिए । उनका अनुसार वडा नम्बर ३ कार्यालयले आफ्नै बजेटबाट करीब २ हजार २५० वटा गाईभैंसी तथा वडा नम्बर ९ ले १ हजार ६०० भन्दा बढी पशुलाई भ्याक्सिन लगाएको छ ।
पशुलाई उच्च ज्वरो आउने, डाबरका फोका आउने लगायत लक्षण देखापर्ने डा. चौधरीले जानकारी दिए । रोगविरुद्ध उपचार गर्न एउटा पशुलाई १० हजारदेखि १२ हजार रुपैयाँसम्म खर्च लाग्ने जनाउँदै उनले सरुवा रोग भएकाले संक्रमित पशुलाई छुट्टै राख्ने, गोठ सफा राख्ने, लामखुट्टेबाट जोगाउने लगायत उपाय अपनाउनुपर्ने उनले बताए । उनका अनुसार लम्की स्किनविरुद्ध लड्न पशु सेवा कार्यालय चन्द्रनिगाहपुरले विभिन्न भिटामिन तथा औषधि वितरण गर्दै आएको छ ।
लम्की स्किन पशुमा लाग्ने प्राणघातक रोग भएकाले यसबाट चौपाया बचाउन निःशुल्क औषधिको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बताए । किसानको आम्दानीको स्रोत पशुपालन भएकाले यस्ता रोगको निःशुल्क उपचार गरी पशुपालकलाई प्रोत्साहन गर्ने उद्देश्यले अभियानका रूपमा औषधि वितरण गर्न पशु शाखालाई निर्देशन दिइएको उनले बताए ।