Odapalika - The Fourth Estate - चौथो अंग
आज यी प्रदेशमा भारी वर्षा

काठमाडौं । केही प्रदेशमा आज वर्षाको सम्भावना छ । हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा धेरै र देशका बाँकी पहाडी भूभागका केही स्थानमा तथा मधेस र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

लुम्बिनी प्रदेशको तराइलगायत कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । मधेस प्रदेशलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

कोसी र वाग्मती प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले बताएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको विभागले प्रष्ट पारेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update