Odapalika - The Fourth Estate - चौथो अंग
चुमनुब्रीमा बाढीले पुल बगाउँदा २ सय घरका वासिन्दालाई सास्ती

अबिरल वर्षपछि आएको बाढीले हिमालपारिको छेकम्पारमा दुईवटा काठेपुल बगाएको छ । तिब्बती सीमा क्षेत्रमा रहेको चुमनुब्री गाउँपालिका–७ लारगाउँ र फुर्पेगाउँ त्यस्तै लामागाउँ र राजेनगुम्बा बीचको दुईवटा काठे पुल बगाएको हो ।

दुईवटा खोलाको पुल बगाउँदा स्थानीय चार गाउँका दुईसय भन्दा धेरै घरधुरीका बासिन्दा प्रभावित भएका पूर्व वडाअध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए ।

खुन्ग्यु खोलामा आएको बाढीले पुल बगाएको स्थानीय तान्जिन लामाले बताए । बाढीले पुल बगाएपछि स्थानीयलाई वारपार गर्न समस्या भइरहेको उनले गुनासो गरे । ‘केही दिनदेखि परेको ठूलो पानीले ठाडो खोला उर्लेर आयो । खोला बढेपछि दुइटै पुल लग्यो’ उनले भने, ‘बाढीले पुल बगाएपछि अब दुई गाउँका बासिन्दा वारपार गर्न जे परे परोस भनेर खोलामा पस्नुपर्ने बाध्यता छ ।’

यस्तै, लामा गाउँबाट राजेन गुम्बा, लारगाउँको उत्तरी मुल बाटो पर्ने नाक्यु खोला पुल पनि बाढीले बगाएको चुमनुब्री गाउँपालिका वडा नं ७ का निवर्तमान अध्यक्ष पासाङ फुन्जो लामाले बताए । ‘पुल बागएपछि राजेन गुम्बा र बुद्ध आधारभूत विद्यालय जाने बाटोे अवरूद्ध भएको छ,’ उनले भने । खोलामा पानीको बहाव घटेको छैन । जसले गर्दा विद्यार्थीहरुलाई विद्यालय आवत जावत गर्न समस्या भएको लामाले जानकारी दिनुभयो ।

‘हिजो पनि बुद्ध आधारभूत विद्यालयका विद्यार्थीहरुलाई मुस्किलले खोला पार गरायौँं,’ उनले भने, ‘सोही बाटो भएर यात्रा गरिरहनु भएकी एक जना महिलालाई त हामीले डोरी नै बाँधेर उद्धार ग¥यौँ ।’ दुबै पुल गतवर्ष मात्रै निर्माण गरिएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । उनका अनुसार हाल गाउँपालिकाको विपद् कोषबाट काम चलाउका लागि तत्काल काठेपुल निर्माण गर्न आग्रह गरिएको छ । यथाशिघ्र पुल निर्माण गर्न छेकम्पारका वडा अध्यक्ष टासी लामासंग समन्वय गरिएको उनको भनाइ छ ।

सो क्षेत्रमा झुलुङ्गे पुल निर्माणको लागि गण्डकी प्रदेश पूर्वाधार विकास कार्यालयबाट ४ वर्षअघि सर्भे गरिएको उनले बताए । बजेटको लागि धेरै पटक माग गर्दा पनि प्राथमिकतामा नपरेको अध्यक्ष लामाले गुनासो गरे ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update