
बाँके : उमेरले ६ दशक नाघेका नरैनापुरका झिंगदेव बर्माले राप्ती नदीमा आएको बाढीले कैयौँ बस्ती बगाएको देखेका छन्। ‘बाढीले कति पटक त हामीलाई उठीबास नै गराएको छ। मुखैमा आएको चाडबाडमा हामी घरबारविहीन भएका छौँ’, विगत सम्झँदै उनी भन्छन्।
तर उनीयो वर्ष बाढीले क्षति नपुर्याउनेमा ढुक्क छिन्। राप्ती नदी आसपासका गाउँलाई बाढीबाट जोगाउन यो वर्ष आपतकालीन तटबन्ध बनाइएपछि राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक दर्जन गाउँबस्ती खतरामुक्त भएका छन्। ‘बुढेसकालमै भएपनि नदीमा आपत्कालीन तटबन्ध निर्माण गरेको देख्दा खुशी लागेको छ’, उनले भने।
यही गाउँकी रामप्यारी यादव पनि यो वर्ष ढुक्क छिन्। ‘प्रत्येक वर्ष नदीकै चिन्ता हुन्थ्यो । कतिबेला नदीको बहाव ह्वात्तै बढ्छ र हामीलाई विचल्ली बनाउँछ भनेर । तर यो वर्ष आपत्कालीन तटबन्ध निर्माण भएपछि खासै चिन्ता लागेको छैन’, रामप्यारीले भनिन्।
आपत्कालीन तटबन्धका कारण राप्ती नदीले धार परिवर्तन गरेकाले तत्काललाई जोखिम टरेको हो। यसले तटीय क्षेत्रका गाउँबस्तीमा राहत मिलेको छ। दुई वर्षअघि राप्ती नदीमा आएको बाढीले पक्की तटबन्ध बगाएपछि बजेट अभाव देखाउँदै नयाँ तटबन्ध निर्माण हुन सकेको थिएन । यसले गर्दा वरिपरिका करिब एक दर्जन गाउँबस्ती डुबानको उच्च जोखिममा थिए।
‘जनताको तटबन्ध कार्यक्रम’ लमही दाङले कटान रोक्न सिमेन्टको पोल, बाँस, बालुवा भरिएका प्लाष्टिकका बोरा तथा जाली प्रयोग गरी नयाँ प्रविधिको माध्यमबाट ४०० मिटर लामो आपत्कालीन तटबन्ध निर्माण गरेको हो।
आयोजना प्रमुख डा नारायण सुवेदीले दिनरात काम गरेर छोटो समयमै काम सकेको बताए। दुई वर्षदेखि माग गर्दै आए पनि सुनुवाइ नभएको तर हाल जनताको तटबन्ध कार्यक्रमले दुई महिनामा अस्थायी तटबन्ध बनाइदिएपछि स्थानीयमा त्रास हटेको उनले बताए।
झल्ला झगडिया गाउँमा अस्थायी तटबन्ध निर्माण पूरा भएकाले अब फत्तेपुर जरैयास्थित राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण सुरु गरिने जनताको तटबन्ध कार्यक्रमले जनाएको छ । खल्लाझगडियाको क्षेत्रमा ४०० मिटर लामो पक्की तटबन्ध मङ्सिर २०८३ सम्म सम्पन्न गर्ने गरी साई माँ दुर्गा भिन्सी जेभीले ६ करोड पाँच लाखमा ठेक्का लिएर काम शुरु गरेको छ।