
दमौली । जंगलमा पानीको स्रोत मासिँदै गएपछि मानव वस्तीमा वन्यजन्तु आउन थालेपछि डिभिजन वन कार्यालयले वन्यजन्तुका लागि पोखरी निर्माण गरेको छ ।
मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनअन्तर्गत उक्त कार्यालयले जिल्लाका आठवटा सामुदायिक जंगलमा पोखरी निर्माण गरेको हो ।
वन अधिकृत काशीराज पण्डितका अनुसार गत आर्थिक वर्षमा म्याग्दे गाउँपालिका–३ स्थित सिद्धबतासन सामुदायिक वन, देवघाट गाउँपालिका–४ को आमडाँडा मोहोरिया सामुदायिक वन, ऋषिङ गाउँपालिका–३ को जनशक्ति सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।
सोही गाउँपालिकाको वडा नम्बर ४ मा रहेको बराहसेनी सामुदायिक वन, शुक्लागण्डकी नगरपालिका–२ स्थित तारा सामुदायिक वन, बन्दीपुर गाउँपालिका–२ को सिद्धथान सामुदायिक वन, भिमाद नगरपालिका–४ मा अवस्थित मसुरेगैरा सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।
पोखरी निर्माणका लागि प्रतिसामुदायिक वन रु एक लाख प्रदान गरिएको उनले जानकारी दिए । एक लाखको लागतमा भानु नगरपालिका–९ स्थित वागीश्वरी सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण गरिएको छ ।