रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयमा दोहोरो झडप हुँदा नगरप्रमुख प्रेमलाल साह कानुसहित पाँचजना घाइते भएका छन् । शनिबार (साउन ३१) दिउँसो देवाहीगोनाही–९, धरहरीटोलस्थित कृष्ण मन्दिरमा लाग्ने श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटनका विषयमा दुई पक्षबीच झडप भएको हो ।
झडपमा नगरप्रमुख कानु, देवाहीगोनाही–९ का रामविकाश साह, सोही टोलका श्यामविनय साह, इलाका प्रहरी कार्यालय देवाहीगुनाहीमा कार्यरत प्रहरी वरिष्ठ हबलदारद्वय जगदीशराय यादव र धनसुन्दर ठाकुर घाइते भएका इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले जानकारी दिए । उनका अनुसार, घाइते नगरप्रमुखको टाउकोमा १७ टाँका लगाइएको छ ।
हवलदार यादवको टाउकोमा पाँच टाँका लगाइएको छ । अर्का हवलदार ठाकुरको टाउकोमा चार टाँका लगाइएको डीएसपी कार्कीले जानकारी दिए । घाइते सबैको उपचार भइरहेको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । देवाहीगोनाही–९ का अन्दाजी ३५–४० वर्षीय राधामोहन साह, ३५–४० वर्षीय विनोद साह र २१–२२ वर्षीय रीतिक साहलाई पक्राउ गरिएको उनले उल्लेख गरे ।
नगरप्रमुख कानु पक्षले उनलाई रिबन काट्न लगाएर मेलाको उद्घाटन गर्ने भनेको थियो । अर्को पक्षले औपचारिक उद्घाटन नगरी मेला सञ्चालन गर्ने भनेपछि विवाद भएको थियो । उक्त विवाद बढेपछि दुवै पक्षबीच झडप भएको डीएसपी कार्कीले जानकारी दिए ।