
काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै छन् । समकक्षी परराष्ट्रसचिव अमृतबहादुर राईको निम्तोमा मिस्री नेपाल भ्रमणमा आउन लागेका हुन् ।
दुई दिनसम्म काठमाडौंमा रहने मिस्री प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको औपचारिक निम्तो लिएर आउन लागेका हुन् । प्रधानमन्त्री ओली भदौको अन्तिम साता भारत भ्रमणमा जाने तयारी भइरहेको छ ।
भारतीय विदेश मन्त्रालयले भने विदेश सचिव मिस्रीको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने उल्लेख गरेको छ । भ्रमणले द्विपक्षीय सम्बन्ध अझ अघि बढ्ने मन्त्रालयको विश्वास छ ।
पछिल्लोपल्ट प्रधानमन्त्री भएयता ओली पहिलोपटक भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री भएको १४ महिनासम्म पनि भारतले निम्तो गरेको थिएन । प्रधानमन्त्री ओली भारत भ्रमणमा जानुअघि दोस्रोपटक चीन भ्रमणमा जाँदै छन् । सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन उनी चीन जान लागेका हुन् ।
१४ भदौमा चीन जाने ओलीले १८ भदौमा चिनियाँ राष्टपति सी चिनफिङसँग भेट्नेछन् । साथै, चीनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने बताइएको छ ।