
काठमाडौँ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं २ ल्हो गाउँमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् ।
राती साँढे १० बजेतिर आगलागी हुँदा स्थानीय साम्दुक लामा, टासी लामा, छेवाङ रिक्देन, ओर्गेन लामा र तेनजिङ्ग लामाको घर जलेर नष्ट भएको चुमनुब्री–२ का वडाअध्यक्ष मिङ्गयुर दोर्जे लामाले बताए । आगलागीका कारण साम्दुक लामाको दुईवटा घर जलेर ध्वस्त भएको उनले जानकारी दिए ।
स्थानिय साम्दुक लामाको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी प्रमुख एसपी भरत बहादुर विकले बताए ।
‘घरमा कोही नभएको बेला विद्युत सर्ट भएर आगलागी भएको रहेछ,’ एसपी विकले भने, ‘आगलागीबाट ६ वटै घरभित्र रहेको लत्ता–कपडा, गरगहना र अन्नपात पूर्ण रुपमा नष्ट भएको छ ।’ मानवीय र पशुचौपायको क्षति भने नभएको उनको भनाई छ । घटनास्थलमा प्रहरी पुगी सकेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट करिब तीन करोड रुपैँया बराबरको क्षति भएको वडाअध्यक्ष मिङ्गयुर दोर्जे लामाले बताएका छन् ।