
धार्चे । धार्चे गाउँपालिका ३ उहियाको गोठमा बस्नेहरु आवद्ध भएको गोठ समितिले बस्तुभाउबाट हुने गरेको होचो, अर्गेलोको जरिबाना तोकेका छन् । हरेक बर्षझैँ यसबर्ष पनि भदौ १ गते बसेको गोठ समितिको बैठकले लेक, खर्क, माडी, चरनक्षेत्र, खुलाउने, बन्द गर्ने मितिसमेत तय गरेको छ ।
समितिले अरुको बारीमा घाँस काटेमा बँधुवा प्रतिबस्तुभाउका लागि रु २५० तिराएको छ । चरुवा बस्तुभाउ फुस्केर कसैको बाली खाएमा पाँचसय रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको स्थानीय वुद्धिमान गुरुङले जानकारी दिए । बाख्राका लागि २० रुपैयाँ जरिबाना तोकिएको उनले बताए । अघिल्लो बर्षभन्दा यसबर्ष जरिबाना दर बढाइएको उनले बताए ।
यो जरिबानाको व्यवस्था असारदेखि भदौभरिका लागि हो । बैठकले आउँदो मंगलबार लेकका बस्तुभाउ बेशी झार्ने निर्णय पनि गरेको छ । सबैतिरबाट बेशी झारिसकेपछि भदौ १२ गते एकत्रित गरी फेरि कुन कुन लेक, खर्क, चरनमा लैजाने भनेर निर्धारण गर्ने उनले बताए ।
जनप्रतिनिधिको व्यवस्था हुनुअघिदेखिको परम्परालाई निरन्तरता दिँदै धार्चे ५ गुम्दामा पनि गोठ समितिको बैठक सम्पन्न भइसकेको छ । भेलाले अर्काको बारीको घाँस काटेको जरिबाना दरमा वृद्धि गरेको छ । बँधुवा बस्तुभाउका लागि अर्काको बारीको घाँस काटेबापत दुईसय रुपैयाँ जरिबाना तोकेको स्थानीय कर्ण गुरुङले जानकारी दिए ।
यो बैठकमा सयजनाभन्दा धेरैले जरिबाना तिरेको उनले बताए । जरिबानाबापत संकलन भएको रकम गोठ जाने बाटोघाटो बिग्रेभत्केको ठाउँमा मर्मत गर्ने गरिन्छ । साथै समय समयमा लेकमा पूजाआजा गर्नुपर्दा खर्च गर्ने गरिएको कर्ण गुरुङको भनाइ छ । ‘गोठ सभा हाम्रो पुराने रीति हो, झण्डै गाउँमा मान्छे बस्न थालेदेखिको । यसले गाउँलेहरुलाई नियममा बाँध्ने काम गर्छ’, उनले भने, ‘समितिले दुई ठाउँको सीमाना, लेक, वनजंगलको सीमाना, चरन क्षेत्र र व्यक्तिगत जग्गाको साँधसीमाना पनि हेर्छ । कसैको गाईबस्तु बालीमा पसे, नपसेको हेर्छ । कारबाही गर्नुपरे गर्छ । गाउँको रीतिथिति जोगाउँछ ।’
गोठ सभामा सम्पुर्ण गाउँलेहरु अनिवार्य रुपमा सहभागी हुनुन पर्ने तथा सभाका नीति नियमहरुलाई पालना गर्नुपर्ने प्रावधान रहेको उनले बताए । गुम्दालगायत लाप्राक, लापु, सिङ्ला, उहियालगायतका दुर्गम गाउँहरूमा गोठ समितिले गाउँका मुद्दा मामिला मिलाउने काम गर्छ । कर उठाउने, समितिले कुन लेक कसको, कुन चरन, खर्क कसको, अरूको लेक, खर्क, चरनमा आफ्नो गाउँलेको गोठ गएमा छेक्ने, अरू गाउँका गाईबस्तु आए जरिबाना गर्नेलगायतका काम गोठ समितिले गर्ने लाप्राकका मार्सिङ गुरुङले बताए ।
चरन र खर्क बन्द गर्ने, खोल्ने, रेखदेख गर्ने काम गोठ समितिको हो । धार्चेको गाउँहरुमा कोदो, मकै, आलु भित्र्याइसकेपछि बस्तुभाउ बारीमा झार्नु परेमा पनि गोठ समितिले अनुमति दिनुपर्ने पुरानो रीति छ । गोठ समितिले कसको बस्तुभाउ कुन हो, कतिवटा छन् भन्ने पनि जानकारी राख्नुपर्ने हुन्छ ।
तर कतिपय गाउँहरुमा गोठ र गोठालाहरु पनि घट्दै गएकाले गोठ समिति पनि हराउन थालेको धार्चे १ का वडाअध्यक्ष रामसिँह गुरुङले बताए । ‘हाम्रो गाउँमा त अचेल गोठ नै हराउन थालिसक्यो’, उनले भने, ‘त्यसैले यता गोठ समितिको बैठक पनि हुन छाड्यो ।’