Odapalika - The Fourth Estate - चौथो अंग
मोदी गाउँपालिकामा पसाउन लागेको कोदोमा मरुवा र लाहीको प्रकोप

पर्वत : मोदी गाउँपालिका-७ राम्जाको रापु तथा आसपासका क्षेत्रमा लगाइएको कोदोबालीमा मरुवा र लाही किराको प्रकोप देखिएको छ।

पसाउन लागेको कोदोको पात तथा बोट पहेँलो हुँदै सुक्ने रोगले धेरै क्षेत्रफलमा लगाइएको बालीमा क्षति हुन लागेको राम्जाठाँटीका कृषक खेमराज शर्माले बताए। धेरै क्षेत्रफलमा लगाइएको कोदोमा डढ्ने र किराले काट्ने समस्या देखिएको उनले जानकारी दिए।

कृषकबाट समस्याका बारेमा जानकारी आएपछि कृषि ज्ञान केन्द्र पर्वतको टोलीले गाउँपालिकाको कृषि शाखाको प्राविधिक तथा कर्मचारीसहित स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा कोदोमा मरुवा (ब्लास्ट) र जरामा लाग्ने लाही (रुट अपहिड) को प्रकोप देखिएको कृषि ज्ञान केन्द्र पर्वतकी सूचना अधिकारी तथा बाली संरक्षण अधिकारी सोविता सुवेदीले बताइन्।

राम्जामा मात्रै नभएर जिल्लाका अन्य स्थानहरूमा पनि विगतका वर्षदेखि नै यस्ता प्रकोपले कोदोको उत्पादनमा ह्रास ल्याउने गरेको उनले बताइन्। कोदोमा यस्तो सङ्क्रमण हुन नदिनको लागि कोदो रोप्नु पूर्व नै सावधानी अपनाउनुपर्ने भन्दै सुवेदीले अब पसाउने बेलाको कोदोमा गरिने उपचार प्रभावकारी नहुने जानकारी दिइन्।

‘किरा चाहिँ जरामा सामान्यतः देखिन सक्छ। यो लाही किरा थोरै मात्रामा पोहोर सालबाट नै देख्न थालिएको हो। राम्जामा करिब ८÷१० रोपनीमा लगाइएको कोदो नै पहेँलो भइसक्न लागेको रहेछ’, उनले भनिन्, ‘कोदो पसाउने बोला भइसकेकोले अब विषादीको प्रयोग गरेर प्रकोप नियन्त्रण हुँदैन।’

बारीमा राम्रोसँग खनजोत नभएको अवस्थामा, राम्रोसँग गोडमेल नभएको तथा आवश्यक मात्रामा मलको सन्तुलित आपूर्ति नहुँदा यस्ता समस्या देखिने प्राविधिक सुवेदी बताउँछिन्। बारीमा राम्रोसँग खनजोत हुन नपाउँदा माटोमुनि किरा राम्रोसँग विकसित हुने मौका पाउने भएकोले कृषकहरूले खनजोतमा कम ध्यान दिँदा क्षति भोग्नुपर्ने उनको भनाइ छ। अर्को वर्षदेखि राम्रोसँग खनजोत गरेर लगाउने, स्थानीय जातको बीउ भन्दा नेपालकै परीक्षण भएको अलि स्तरीय खालको बीउ लगाउने र त्यसका लागि स्थानीय सरकारले पनि सहयोग गर्ने उनले जानकारी दिइन्।

पसाउने बेलाको कोदो भएकोले अहिले विषादीको प्रयोग गर्दा त्यति धेरै उपलब्धि नआउने भए पनि सकेसम्म क्षति कम गर्नका लागि कृषि ज्ञान केन्द्र र गाउँपालिकाको कृषि शाखाबाट केही औषधि वितरण गरिएको छ। लाही किराको प्रकोप झ्याप्पै नदेखिने तथा किराहरू माटोमुनि हुने भएकोले किराको प्रकोपको शुरु अवस्थामा कृषकहरू अनभिविज्ञ हुन्छन्। त्यो अवस्थामा किराले जरामा बसेर बिरुवाको रस चुस्दा बोट ओइलाउने, पहेँलो हुने र मर्ने गरेको छ। यसले गर्दा कोदोको उत्पादनमा पनि ह्रास हुने गरेको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारी बताउँछन्।  कोदोमा समस्या धेरै नै देखिने गरेको भएर कृषकहरूको फोन आउने बित्तिकै जाने र आवश्यक उपचार तथा परामर्श गर्ने गरिएको उनको भनाइ छ।

धेरै सुख्खा भएको वा चिसो चिसो भएको अवस्थामा यसको प्रकोप हुने गरेको भन्दै अधिकारीले कोदो लगाउने गरेको मुख्य ठाउँमा यो प्रकोप देखिने गरेको बताए। अघिल्लो वर्ष कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा देखिएको यो प्रकोप अहिले मोदी गाउँपालिका सहित अन्य स्थानमा पनि देखिएको छ।

यस्ता रोग आउन नदिने उपाय भनेको पहिले नै राम्रोसँग खनजोत गरेको हुनुपर्ने तथा कोदोलाई घुसुवा बालीको रूपमा मकै बालीमा यसो घुसाएर छाडिदिन नहुने प्राविधिकको सुझाव छ। मल राम्रोसँग नदिनु तथा दिइएको मल पनि मकैले ग्रहण गर्दा कोदोलाई आवश्यक पदार्थको आपूर्ति नहुने बाली संरक्षण अधिकृत सुवेदीले बताइन्। प्रकोपबाट मुक्ति पाउनको लागि मकै खेतीदेखि बिउसम्मका हरेक कुरामा ध्यान दिनुपर्ने उनले सुझाइन्।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update