
यतिवेला मुलुक राजनीतिक शून्यतामा छ । कार्यपालिकाको नेतृत्व गर्ने प्रधानमन्त्री राजीनामा दिएर बेपत्ता छन् । उनी देशलाई अनिश्चितातर्फ धकेल्दै सम्पूर्ण सम्पर्कबाट टाढा छन् ।
व्यवस्थापिका संसदको नेतृत्व गर्ने सभामुख अनिश्चितकालका लागि संसद स्थगन गर्दै बेपत्ता छन् । न्यायापालिका जलेर खरानी भएको छ । मुख्य रजिस्टारले सुचना जारी गर्दै अनिश्चित कालका लागि न्याय सेवा बन्द गरेका छन् ।
राज्य संचालनका मुल तीनवटै अंग बेपत्ता छन् । यता चौथो अंग संचार क्षेत्रलाई पनि ‘प्यारालाइज’ बनाइएको छ । आफै अन्योलग्रस्त अवस्थामा रहेको संचार क्षेत्र सुचनाको पहुँचबाट विमुख छ ।
अब बाँकी रहेको त्यही एउटा राष्ट्रपति संस्था हो । राष्ट्रपतिले न राजीनामा दिएका छन्, न त उनको कुनै खुटखबर नै छ । यो अवस्थामा संविधानको संरक्षक कहाँ छन् ? कुन अवस्थामा छन् ? के गरिरहेका छन् ? यसबारे यथाशिघ्र जानकारी पाउने नेपाली नागरिकको नैसर्गिक अधिकार हो ।
राष्ट्रपति रहुन्जेल मुलुकको संविधान पनि ज्यूदै रहन्छ भन्ने वर्तमान संविधानले परिकल्पना र व्यवस्था गरेको विषय हो । किनकि, उनै राष्ट्रपति वर्तमान संविधानको संरक्षक हुन् । यतिबेला वर्तमान संविधान ज्यूदै छ या मृत भइसक्यो ? यो अन्योलता चिर्ने एउटै पात्र वा संस्था– त्यो हो, राष्ट्रपति ।
मुलुकमा विषम परिस्थिति सिर्जना भएसँगै नेपाली सेनाले राष्ट्रिय सम्पत्ति र जनताको जिउधनको सुरक्षाका खातिर सक्रियता देखाएको छ । त्यही नेपाली सेनाको सरक्षक वा भनौं परामाधिपति पनि उनै राष्ट्रपति हुन् ।
आम जनताले राष्ट्रपति कहाँ छन् भनेर खोजी गर्नुभन्दा पहिला नै नेपाली सेनाले राष्ट्रपतिको अवस्थाबारे आम जनतालाई सुसुचित गर्नुपथ्र्याे ।
वरिष्ठ पत्रकार किशोर नेपालले सामाजिक संजाल एक्समार्फत राष्ट्रपतिको एउटा सन्देश सार्वजनिक गरेका छन् ।
उनले एक्समा लेखेका छन्– राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भदौ २४ गते भएको सुरक्षा प्रमुखहरुको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसँग ‘राजिनामा दिने’ आग्रह गर्दै भनेछन्, ‘बाँकी हामी सम्हाल्छौ ।’ राष्ट्रपतिको जवाफ थियोः म राजिनामा दिन्नँ । बरु, तपाईहरु मलाई मारिदिनुहोस र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाइदिनुहोस । त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस ।’
राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्बन्धित यो विषय सही या गलत के हो भन्नेबारे नेपाली सेनाले हालसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन । यस्तो महत्वपूर्ण र संवेदशील घडीमा सार्वजनिक भएको यस्तो गम्भीर विषयमा नेपाली सेनाले प्रतिक्रिया नजनाउनुलाई वरिष्ठ पत्रकार किशोर नेपालले लेखेको विषय सत्य मान्नुको विकल्प छैन ।
बरिष्ठ पत्रकार नेपालले सार्वजनिक गरेको विषयले तत्काल २ वटा कुराको संकेत गर्छ । पहिलो, वर्तमान संविधानको संरक्षक राष्ट्रपति सेनाको सुरक्षा घेरामा छन् या नियन्त्रणमा छन् । दोस्रो, परिस्थिति अझ जटिल नहोस् भनेर चालिएको कुटनीतिक कदम हो । जस्तो कि २०५८ सालमा दरबार हत्याकाण्डमा मारिएका तत्कालिन युवराज दिपेन्द्रलाई जिवितै छन् भनेर केही घण्टाका लागि राजा घोषणा गरिएको थियो ।
प्रधान सेनापतिको सम्वोधन
जेनजीले गरेको पहिलो दिनको प्रदर्शनको बेलुकीसम्म १९ जना निहत्था नागरिक मारिएपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका राष्ट्रका नाममा सम्बोधन गर्लान् र सम्वादको थालनी गर्लान् भन्ने आम अपेक्षा थियो । तर, गरेनन् । भोलिपल्ट पनि उनी विनासम्वोधन राजीनामा बुझाएर कहाँ गए भन्ने अझै खुलेको छैन ।
मुलुकमा प्रधानमन्त्री विहिनताको अवस्थामा राष्ट्रपतिले जनताको नाममा सम्वोधन गर्लान् भन्ने अपेक्षा जिवितै थियो । तर, उग्रतातर्फ मोडिएको प्रदर्शनले राष्ट्रपति भवन आगो लगाएर खरानी बनायो । नेपाली सेनाका परमाधिपति राष्ट्रपतिलाई सेनाले जोगाएर सुरक्षित स्थानतर्फ लग्यो होला, अब केही बेरामा राष्ट्रपतिले राष्ट्रका नाममा केही बोल्लान् भन्ने अपेक्षा ज्यूदै थियो । तर, वरिष्ठ पत्रकार किशोर नेपालले सार्वजनिक गरेको स्ट्याटस पढेपछि भने राष्ट्रपतिले सम्वोधन गर्लान् भन्ने जनताको अपेक्षामाथि तुषारापात भयो ।
बरु पृष्ठभूमिमा पृथ्वीनारायण शाहको तस्वीर देखिने गरी प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रका नाममा सम्बोधन गरे । राजनीतिक एवम् प्रशासनिक जिम्मेवारीका लागि संविधानले सिर्जना गरेका राज्यका अरु सबै अंग निस्कृय भएजस्तो गरी प्रधान सेनापतिले नेतृत्वविहिन आन्दोलनको आन्दोलनकारीलाई सम्वोधनमार्फत वार्तामा बोलाए । जुन, आमनागरिकको अपेक्षा विपरित थियो । किनकि भावी सरकारको रुपरेखा तय गर्ने संवैधानिक अधिकार राष्ट्रपतिबाहेक अरुसँग छैन ।
सैनिक मुख्यालय नै वार्तास्थल !
सम्वोधनको क्रममा राष्ट्रपति र प्रदर्शनकारीबीच सम्वादको मध्यस्थता गर्ने उद्घोष गरेका प्रधान सेनापति सिग्देलले पछिल्ला ४८ घण्टा हुन लाग्दासम्म फरक–फरक अनुहारसँग आफू एक्लै वार्ता गर्दै निष्कर्ष आफै निकाल्ने प्रयास गरिरहेका छन् । सामान्यतः राजनीति प्रवेश निषेध रहने सैनिक मुख्यालय अहिले कसलाई प्रधानमन्त्री बनाउने र को–को मन्त्री हुने भनेर छलफल गरिरहेको छ ।
राजनीतिक सुझबुझ नभएका जेनजी पुस्ता त जहाँ बोलाइयो त्यही गयो । तर, आफूलाई राजनीतिको अब्बल खेलाडी ठान्नेहरु पनि वार्ताका लागि राष्ट्रपतिको वास्तै नगरी सैनिक मुख्यालय जानु दुर्भाग्यपूर्ण हो । उनीहरुसँग अपेक्षा के थियो भने– हामी बरु सैनिक मुख्यालय नै सही तर, राष्ट्रपतिसँगै वार्ता गर्छाैं भन्लान् भन्ने । तर, यस्तो हुन सकेन । प्रधानमन्त्री बनेर नयाँ र उन्नत लोकतन्त्र दिन्छु भन्नेहरु सैनिक मुख्यालय धाइरहेका छन् ।
प्रधानमन्त्रीमा स्वीकार्यता
अघिल्लो पुस्ताको कमजोरीका कारण उत्पन्न जटिलता स्वकार्य नभएपछि आन्दोलित जेनजी पुस्ताले भावी नेतृत्वका लागि अगाडि सारेका अनुहारहरु भने अपेक्षित छैनन् । किनभने जेनजी पुस्ताले ७३ वर्षीय ‘बेबीबुमर जेनेरेसन’ सुशीला कार्कीलाई अघि सारेको छ ।
नेपालको कुल जनसंख्याको २० प्रतिशत हाराहारी रहेको जेनजी पुस्ताले छानेको प्रधानमन्त्री बाँकी रहेको ८० प्रतिशत जनसंख्याले स्वीकार्दिनु पर्ने वाध्यात्मक परिस्थिति उत्पन्न भएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा समाजवादी नेता विपी कोइरालाले ‘समाजको कुनै पुस्ताले अन्यायको महसुस गरेसम्म राष्ट्रको जग मजबुत हुँदैन’ भनेका थिए । यस्तै, जननेता मदन भण्डारीले पनि भनेका थिए– शासन प्रक्रियामा वर्ग, समुदाय, लिंग सँगसँगै सबै पुस्ताको प्रतिनिधित्व भएन भने कालान्तरमा त्यसैले प्रतिक्रान्ति निम्त्याउँछ । यो विषय यहाँ व्याख्या गर्नुभन्दा निर्णायक र जिम्मेवारी बोक्न हतारिनेहरुले बुझ्नु पर्ने विषय हो ।
खै महामहिम राष्ट्रपति ?
नागरिक समाजले भनिसकेको छ– अहिलेको जटिलताको समाधान वर्तमान संविधाभित्रबाटै खोजौं । तर, नागरिक समाजले पनि खोजेन– वर्तमान संविधानका संरक्षक संस्था राष्ट्रपति खै भनेर ।
वरिष्ठ पत्रकार किशोर नेपालले त्यस्तो गम्भीर विषयलाई सामाजिक संजालमार्फत सार्वजनिक गर्दा पनि राष्ट्रपतिको खोजीबारे नागरिक समाज मौन देखिन्छ । अहिलेको समस्याको समाधान राष्ट्रपतिबाट खोज्ने हो भने पहिला राष्ट्रपति खोज्नु पर्यो, त्यसपछि राष्ट्रपतिबाट खोज्नुपर्यो, जुन राष्ट्रपतिले राष्ट्रका नाममा गर्ने आफ्नो सम्वोधनमा व्यक्त गर्ने नै छन् ।
यतिबेला नेपाली जनजनको अन्तिम आशाको केन्द्र राष्ट्रपति नै हुन्, नेपालको संविधान पनि उनै हुन् । यो संविधानलाई सक्रिय राख्न वा निष्कृय पार्न पनि राष्ट्रपति चाहिन्छ । किनकि वर्तमान संविधानको संरक्षक राष्ट्रपति नै हुन् । त्यसैले हाम्रा राष्ट्रपति कहाँ छन्, कुन अवस्थामा छन्, के गरिरहेका छन्, के सोचिरहेका छन्, के चाहन्छन्, यतिवेला यी सबै प्रश्नको जवाफबाहेक अरु केही चाहिएको छैन । किनकि यतिबेला मुटु छ, धड्कन छैन ।