काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालीलाई भिजिट भिसा दिन रोक लगाएको छ । उक्त देशले भिजिट भिसा दिन एकाएक किन रोक लगायो भन्नेबारे औपचारिक रूपमा जानकारी गराएको छैन ।
तर, भिसासम्बन्धी काम गर्ने नेपाली ट्राभल्स एजेन्सीहरूले सोमबार बिहानदेखि सबैजसो भिसा आवेदन अस्वीकृत हुन थालेको पुष्टि गरेका छन् । यूएई सरकारले अनलाइनमार्फत नै भिसा जारी गर्दै आएको छ ।
एक ट्राभल एजेन्सी सञ्चालकका अनुसार युएईको दुबई इमिरेट्सले केही पहिलादेखि नै भिजिट भिसामा कडाइ गरेको थियो । दुबई इमिरेट्सले कडाइ गरेपछि नेपालीहरूले शारजाह इमिरेट्सबाट भिसाका लागि आवेदन दिने गरेका थिए ।
‘दुबईबाट ९० प्रतिशत भिसा अस्वीकृत हुने गरेको थियो । तर, शारजाहको भिसा आइरहेको थियो । त्यो पनि अब रोकियो’, ती ट्राभल एजेन्सी सञ्चालकले भने ।
उनका अनुसार शारजाहले १ हजार ३० दिह्राम डिपोजिट राखेर एक महिनाको म्याद भएको भिसा ५५० र दुई महिनाको भ्याद भएको भिसा ६५० दिह्राममा बेचिरहेको थियो । आज बिहानदेखि अचानक नेपालीहरूको भिसा एसेप्ट नहुनुलाई अस्थायी प्रतिबन्धका रूपमा सरोकारवालाले बुझेका छन् ।
हाल यूएईको भिसासम्बन्धी काम ट्राभल्स एजेन्सीले अनुमति लिएर गर्दै आएका छन् । त्यस्तो सेवा दिने ट्राभल्स एजेन्सीहरु नेपाल र दुबईमा सञ्चालित छन् । दुबई इमिरेट्सले गत जनवरीदेखि नै भिसामा कडाइ गरेकाे थियो ।
दुबईले सेप्टेम्बरदेखि डिसेम्बरसम्म एम्नेस्टी (आममाफी) दिएको थियो । एम्नेस्टीलगत्तै दुबईको भिसा टाइट भएको, आबुधाबीले पहिले नै बन्द गरेको र अहिले शारजाहले पनि रोकेपछि नेपालीलाई यूएई यात्रामा असहज हुने भएको सरोकारवालाले बताएका छन् ।
जबकि नेपालीहरु भिजिट भिसामार्फत ठुलो सङ्ख्यामा यूएई जाने गरेका थिए । यतिमात्रै होइन भिटिज भिसामै गएर नेपालीहरूले त्यहाँ काम खोजेर वर्किङ भिसामा समेत परिवर्तन हुने गरेका थिए ।
यूएईस्थिथत नेपाली राजदूत तेजबहादुर क्षत्रीले भिसामा भएको रोकावटबारे दूतावासलाई औपचारिक जानकारी नभएको प्रतिक्रिया दिए । तर, यूएईमै रहेका एक नेपाली अभियन्ताले नेपालमा विकसित राजनीतिक घटनाक्रम र यूएईमा बढ्दो नेपालीको समस्यालाई मध्यनजर गरेर भिसामा अस्थायी प्रतिबन्ध लगाएको हुनसक्ने बताए ।
वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मानिने यूएईमा हाल करिब ८ लाख नेपाली कार्यरत रहेको बताइन्छ । तीमध्ये करिब ७० हजार नेपाली नेपालबाट भिजिट भिसामा त्यहाँ पुगेर अहिले वर्किङ भिसामा रूपान्तरित भई कार्यरत रहेको आबुधाबीस्थित नेपाली दूतावासको अनुमान छ । यस बाहेक कैयन नेपाली भिजिट भिसा मार्फत दुबईलाई ट्रान्जिट बनाएर त्यहाँबाटै सेटिङमा अन्य मुलुकमा पनि पुग्ने गर्छन् ।