Odapalika - The Fourth Estate - चौथो अंग
शुक्लाफाँटा नगरपालिकाका गाईबस्तुमा फेरि देखियो लम्पी स्किन

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-९ सिसैयामा स्थानीय किसानले पालेका गाईको बाच्छीमा लम्पी स्किन रोगको सङ्क्रमण पुष्टि भएको छ।

गाईको बाच्छीमा रोगका लक्षण देखिएपछि पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीको टोलीले नमुना सङ्कलन गरेको हो। सङ्कलित नमुना परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो। नमुनाको पीसीआर विधिबाट परीक्षण गरिँदा लम्पी स्किन पुष्टि भएको पशु चिकित्सक जोशीले जानकारी दिए।

जोशीका अनुसार सुदूरपश्चिम प्रदेशमा दुई वर्षअघि मात्र लम्पी स्किन रोग देखिएको थियो। त्यसयता हालसम्म यो पहिलोपटक पुनः सङ्क्रमण भेटिएको हो। हाल एकमात्र गाईको बाच्छीमा रोग देखिएको भए पनि आसपासका गाईभैँसीलगायत अन्य पशुमा भने लक्षण भेटिएको छैन।

‘कुन ठाउँबाट रोग फैलिएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ’, उनले भने, ‘गत आर्थिक वर्षको अन्त्यतिर देखिएको यो वेभ सुदूरपश्चिम प्रदेशमा भने पहिलोपटक पुनः देखापरेको छ’, वरिष्ठ पशु चिकित्सक जोशीले भने, ‘विसं २०८० मा देशभर झण्डै १३ लाख पशु लम्पी स्किन रोगबाट सङ्क्रमित भएका थिए भने करिब ५० हजार पशु मरेका छन्।’
 
सुदूरपश्चिम प्रदेशमा लम्पी स्किनविरुद्धको खोप न्यून मात्र लगाइएको र वर्षायाम चलिरहेकाले रोग व्यापक फैलिने चुनौती रहेको वरिष्ठ पशु चिकित्सक जोशीले बताए। उनका अनुसार खोप सबैभन्दा प्रभावकारी उपाय भए पनि प्रदेशमा हाल मौज्दात नभएकाले रोगले विगत २०८० सालमा जस्तै विकराल रूप लिन सक्ने देखिन्छ।

‘लम्पी स्किन रोग देखिएको पशुलाई तुरुन्त अलग राख्नुपर्छ’, उनले भने, ‘गोठ वरिपरि सरसफाइमा ध्यान दिनु आवश्यक हुन्छ, कीरा, लामखुट्टेजस्ता रोग सार्नेवाहक नियन्त्रण गर्नुपर्छ, सङ्क्रमित पशुलाई छुनु वा गोठमा पस्दा सावधानी अपनाउनुपर्छ।’

शुक्लाफाँटा नगरपालिकाको पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टका अनुसार चार वर्षअघि वडा नं १२ कालागौंडीका किसानले पालेका गाईमा लम्पी स्किन रोग भेटिएको थियो। त्यसपछि अहिले वडा नं ९ सिसैयामा पुनः रोग देखिएको हो। ‘किसानलाई सङ्क्रमित गाईलाई अन्य पशुसँग नबाँध्न सचेत गराएका छौँ’, उनले भने, ‘सङ्क्रमित गाईलाई अलग राख्ने सल्लाह दिएका छौँ, सचेतना फैलाउने कार्य गरेका छौँ।’

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update