Odapalika - The Fourth Estate - चौथो अंग
संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी रहेको बताएका छन् । संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न सकेमात्रै संविधानको रक्षा र विधिको शासन प्रवर्द्धन हुने उनको भनाइ छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले सो धारणा सार्वजनिक गरेका हुन् ।

संविधान घोषणाको एक दशक पुग्न १० दिन बाँकी रहँदा नै गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनले समाज र राष्ट्रलाई नयाँ सोचका साथै पारदर्शिता र सुशासन दिनुपर्ने महत्त्वपूर्ण चेतना दिएको उनले उल्लेख गरेका छन् ।

भ्रष्टाचार र कुशासन अन्त्यको माग अघि सारेका निर्दोष युवाहरूको विरोधलाई देखाएर देशमा असामान्य स्थिति सृजना गरिएको भन्दै उनले जननिर्वाचित सर्वोच्च विधायिकी संस्थालाई विघटन गर्ने कार्य गैरसंवैधानिक भएको उल्लेख समेत गरेका छन् ।

विगतमा पनि नेपाली जनताबाट खोसिएको अधिकार संसदमार्फत नै पुनर्स्थापित गरेको स्मरण गर्दै सभामुख घिमिरेले लोकतान्त्रिक शासन प्रणालीको विकल्प अझ उन्नत लोकतन्त्रमात्र हुनेतर्फ ध्यानाकर्षण पनि गराएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update