
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले यो वर्षको दसैँतिहारलगायत चाडपर्वलक्षित गर्दै चार हजार ७३८ प्रहरी परिचालन गर्ने भएको छ ।
काठमाडौं उपत्यकामा दसैँ, दीपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित बनाउन र अप्रिय घटना हुन नदिन चार प्रकारका सुरक्षा रणनीति तय गरी प्रहरी परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
उनले भने, “दसैँ, दीपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित बनाउन सुरक्षाका लागि दसैँमा परिसर प्रमुखको कमान्डमा चार हजार ७३८ जना जनशक्ति खटिनेछन् । ९१ स्थानमा पिकेट ड्युटी परिचालनका लागि ३६४ जना प्रहरी परिचालन गरिनेछ ।”
यस्तै, काठमाडौंमा नागरिक सहायता कक्ष १४ स्थानमा राख्ने योजना छ । हाल तीन ठाउँ बल्खु, कंलकी र नयाँ बसपार्कमा नागरिक सहायता कक्ष सञ्चालन गरी ७२ जनशक्ति परिचालित रहेका प्रवक्ता बोहराले बताए ।
उनका अनुसार, १४ एरिया विभाजन गरिएको छ । पूजापाठ हुने स्थान, टिकट बिक्री हुने स्थान, खसीबोका खरिद–बिक्री हुने स्थान, सपिङ सेन्टर तथा महल, गरगहना पसलमा विषेश सुरक्षा प्रदानसहित सादा पोसाकका प्रहरी परिचनलन गरिने उनले जानकारी दिए ।
दसैँतिहारलगायत चाडपर्वमा चोरी, पकेटमारी, लुटपाट, कुटपिटलगायत घटना बढी हुने भएकाले सादा पोसाकका प्रहरी उल्लेख्य मात्रामा परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
क्यूआरटी टोली, मोबाइल टोली, मोटरसाइकल क्यूआरटी टोली पनि खटिने जनाइएको छ ।
व्यक्तिका घरको सुरक्षा गर्नेसम्म प्रहरीको योजनामा समावेश छ । दसैँमा लामो समयसम्म घर छाड्ने भए विश्वासिला व्यक्तिलाई जिम्मा लगाएर वा नजिकको प्रहरीलाई खबर गरेर जान पनि प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।