
काठमाडौं । दुई दिनमा नेपालको इलामस्थित हिमाली गाउँमा सबैभन्दा बढी वर्षा भएको छ । गत शुक्रबार र शनिबार (असोज १७ र १८ गते)को भीषण वर्षाले हिमाली गाउँको यसअघिको वर्षाको रेकर्ड ब्रेक गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यसअघि, हिमाली गाउँमा ३२०.६ मिलिमिटर वर्षा भएको थियो । तर, यसपटक ३३२.६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता वरिष्ठ मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।
उनका अनुसार, दोस्रो धेरै वर्षा भएको स्थान रौतहटको गौर हो । गौरमा यसअघि ३०१.५ मिलिमिटर वर्षा भएकामा यसपटक ३१५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, धेरै वर्षा हुने स्थानको तेस्रो सूचीमा पर्साको वीरगन्ज परेको छ । वीरगन्जमा यस वर्ष २९४.५ मिलिमिटर वर्षा भएको छ । यसअघि, वीरगन्जमा २७३.२ मिलिमिटर वर्षा भएको थियो । इलामकै इलाम टी–स्टेटमा २८० मिलिमिटर वर्षा भएको छ । यसअघि, त्यहाँ २७३.२ मिलिमिटर वर्षा भएको थियो । यी चार वटै स्थानमा राखिएका वर्षा मापन केन्द्रमा विगत रेकर्ड ब्रेक भएको हो ।
अहिले देशभरबाट मनसुन बहिर्गमन भइनसकेकाले नेपालभरमा परेको पानीको वास्तविक तथ्यांक आउन समय लाग्ने उनको भनाइ छ । "यो सबै मनसुन बहिर्गमन भइसकेपछि नेपालभरबाट हाम्रो रिपोर्ट आउँछ । अहिलेसम्मको स्थिति हेर्दा स्थान हेरेर छ । कतिपय स्थानमा सरदरभन्दा माथि पनि छ । सरदर, सरदर भन्दा कम स्थान हेरेर छ । पूर्णरूपमा पूरै मनसुन बहिर्गमन भइसकेपछि रिपोर्ट आउँछ," उनले पोखरेलले भनिन् ।
प्रवक्ता पोखरेलका अनुसार, वाग्मती र कोसी प्रदेशलाई खतरायुक्त स्थानमा राखिएको थियो । तर, इलामलाई उच्च खतराको सूचीमा नराखेर खतराको सूचीमा मात्र राखिएको थियो । मनसुनले आफ्नो ट्रयाक परिवर्तन गर्दा इलाममा बढी वर्षा भएको हो । मनसुन वाग्मतीबाट कोसी प्रदेशमा द्रुत गतिमा इलाम पुगेकाले विपद् निम्तिएको हो ।
उनका अनुसार, १०५ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । यस्तै, ६८ वटा केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ भने २१ वटा केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । त्यस्तै, पाँच केन्द्रमा ३०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । उनका अनुसार, अहिलेको वर्षा बेमौसमी हो ।