काठमाडौं । जेनजी आन्दोलनपछि पहिलोपटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । कांग्रेस केन्द्रीय समिति बैठकको मुल एजेन्डा भने पार्टीको महाधिवेशन बनेको छ ।
महामन्त्रीद्वयले विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने प्रस्तावसहित हस्ताक्षर संकलन गरेका छन् । महामन्त्रीद्वयको अभियानपछि कांग्रेस जिनजी आन्दोलनको समीक्षा, अहिलेको वास्तविक अवस्थाको किटान गरी आफ्नो धारणा राख्न र अबको गन्तव्य तय गर्ने विषयको छलफलमा समेत जुट्न सकेको छैन ।
विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवादमा कांग्रेस रुमलिएको छ । आजको बैठकमा पनि बैठकअघि नै विशेष महाधिवेशनको मागसहित महाधिवेशन प्रतिनिधिका हस्ताक्षर बुझाएर केन्द्रीय समिति बैठकबाट निर्णय गराउने पक्षमा महामन्त्री देखिएका छन् ।
शेखर कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन भन्दै आएका छन् । उनले कार्यतालिका बनाएर मंसिर मसान्तभित्र नेतृत्व परिवर्तन गर्नेगरी महाधिवेशनको प्रक्रियाअगाडि बढाउने र सम्भव नभएमा केही हप्ता थपेर भए पनि महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव राखेका छन् ।
नेपाली कांग्रेसको संस्थापन पक्षले भने वैशाखसम्म गर्नेगरी महाधिवेशनको कार्यतालिका बनाएर अगाडि जानुपर्ने बताउँदै आएको छ । उसले देश संकटमा रहेका बेला पार्टीको महाधिवेशन भन्दा राष्ट्रिय मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने बताएको छ ।
विशेष महाधिवेशनका पक्षमा ५१ प्रतिशत हस्ताक्षर संकलन भएको दाबी गरिएको छ । आज केन्द्रीय समितिको बैठकअघि महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनको प्रस्ताव दर्ता गर्ने तयारी रहेको केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिएका छन् ।
शेखर कोइरालानिकट गुरु घिमिरेसहितको सम्पर्क कार्यालयस्थित अनामनगरमा हस्ताक्षर संकलन तथा प्रस्ताव तयार पार्ने काम भएको छ । वर्तमान केन्द्रीय पदाधिकारीसहित संघीय केन्द्रीय समिति असफल भएको भन्दै घिमिरे नेतृत्वको समूहले नै हस्ताक्षर अभियान सुरु गरेको थियो ।





