Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेसको विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षर दर्ता आज

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन माग गर्दै संकलित हस्ताक्षरसहितको प्रस्ताव दर्ता आज हुने भएको छ । पटकपटक सर्दै आएको हस्ताक्षरसहितको प्रस्ताव दर्ता आज दिउँसो ३ बजे हुने नेताहरूले बताएका छन् । 

मंगलबार बिहान १० बजे नै दर्ता गर्ने भनिएको प्रस्ताव सभापति शेरबहादुर देउवाको सम्बोधनपछि गर्ने भन्दै रोकिएको थियो  । 

बैठकमा सभापति देउवाले कार्यवाहक पूर्णबहादुर खड्कालाई तोकेर बाहिरिएका थिए । प्रस्ताव दर्ताका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष पेस भएकोमा खड्का त्यहाँबाट बाहिरिएपछि कार्यालय नफर्किएका कारण दर्ता सरेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए ।

“कार्यवाहक सभापतिज्यूले बुधबार ३ बजेका लागि समय दिनुभएको छ,” शिवाकोटीले भने, “अब बुधबार (आज) दर्ता हुनेछ ।” 

जेनजी आन्दोलनबाट सभापति देउवामाथि कुटपिट भएपछि कांग्रेस महामन्त्रीद्वयले जेनजी आन्दोलनको माग स्थापित नेतृत्व फेर्नुपर्ने पनि रहेको भन्दै बहस थालेका थिए । 

पार्टी पुनर्गठनका लागि आउने र आफूलाई साथ दिन आह्वान गरेका उनीहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षरका लागि आह्वान गरेका थिए ।

त्यसक्रममा नेता डा. शेखर कोइरालालाई उनीहरूले हस्ताक्षर संकलन गरेर दबाब बढाउँदै शीघ्र महाधिवेशन गराउने प्रस्ताव गरेपछि सिंगो संस्थापनइतर पक्ष हस्ताक्षरमा सहभागी भएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update