कञ्चनपुर - दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज छापा मारेर जुवा तास खेल्दै गरेका १२ जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले प्राप्त गोप्य सूचनाका आधारमा दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलस्थित दिनेश बहादुर बमको नास्ता पसलमा जुवा तास खेल्दै गरेका आठ जनालाई नगद रकमसहित नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार उक्त स्थानबाट रु ३० हजार ९३५ रकम नगद, चार थान मोबाइल फोन, गलैँचा एक थान बरामद गरिएको छ ।
यसैगरी, सोही नगरपालिका–३ देबीस्थानका डम्बर दमाईको घरमा प्रहरीले छापा मारी जुवा तास खेलिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको छ । उक्त स्थानबाट रु २१ हजार ८७५ नगद, तीन थान मोबाइल फोन, त्रिपाल १ थान बरामद गरेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ ।







