Odapalika - The Fourth Estate - चौथो अंग
निरन्तरको हिमपातका कारण हिडन भ्यालीमा ३ बेलायती सहित १५ पर्यटक समस्यामा

म्याग्दी । निरन्तर हिमपातका कारण म्याग्दीदेखि धौलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धौलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा आन्तरिक र बाह्य गरेर १५ जना पर्यटक समस्यामा परेका छन् । ती मध्ये तीन  बेलायती महिला  र १२ जना स्वदेशी पर्यटक रहेका छन् । 

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने क्रममा सोमबार रातिदेखि भएको निरन्तर हिमपातले पदमार्ग पुरिएपछि १२  नेपाली र तीन जना बेलायती पर्यटकहरु सो भ्यालीमा रोकिएका हुन् । 

धौलागिरि र सिता हिमालका बीचमा समुन्द्री सतहदेखि पाँच हजार १०० मिटर उचाइमा रहेको हिडन भ्यालीमा बास बसेका उनीहरु सुरक्षित रहेका म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए ।
‘काठमाडौको सेक्रेट हिमालय टे«ड एण्ड एक्पिडिसन ट्राभल एजेन्सी मार्फत पदयात्रामा गएका बेलायती पर्यटकले हिड्न गाहे पर्ने भएकाले मंगलबार साँझ सम्बन्धीत कम्पनी मार्फत हेलिकप्टरबाट उद्धारको ब्यवस्था मिलाउन अनुरोध गरेका थिए । बुधबार बिहानसम्म सम्पर्कमा रहेका उनीहरु सकुशल छन्,’ उनले भने ।
म्याग्दी र मुस्ताङको जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकाय मार्फत उद्धार टोली पठाउने प्रयास गरेपनि हिउँ पर्न नरोकिएकाले समस्या भएको छ । हिउँ पर्न रोकिएर मौसम सफा भएपछि स्थल र हवाई मार्गबाट हिडन भ्याली पुग्न सकिन्छ ।   

उनीहरु रहेका स्थानमा होटल र घर छैन । सेक्रेट हिमालय ट्रेड एण्ड एक्सपीडिसनका व्यवस्थापक विनय लामाका अनुसार बेलायती नागरिकत्रय म्यारी रिप्पे, क्यारिराइन विल्सन र इमिल्ली क्याट्स हिडन भ्यालीमा छन् । 

पथप्रर्दशकले स्याटेलाइट फोन मार्फत उद्धारको अनुरोध गरेका व्यवस्थापक लामाले बताए । हिमपात रोकिएर मौसम सफा भएमा हेलिकप्टर पुग्न सक्ने र हिउँ पग्लिएर बाटो पत्ता लगाउन सके मात्र सुरक्षित स्थलतर्फ हिडन सक्छन । त्यहा मोवाइल र इन्टरनेट सेवाको पहुँच छैन  । 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update