काठमाडौं - काठमाडौं महानगरपालिकाले रु पाँच करोड २० लाखको लागतमा नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी पुनःनिर्माणको काम सुरु गरेको छ । क्षमा पूजा गरेर थालिएको पोखरीको पुनःनिर्माण २०८३ असोज ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।
“हाँडीगाउँ प्राचीन शैलीमा फर्काउने गुरुयोजनाअन्तर्गत हामीले काम गरिरहेका छौँ,” पुनःनिर्माणका विषयमा वडाध्यक्ष वीरेन्द्र प्रजापतीले भने , “मौलिकता र सांस्कृतिक पहिचान, पुनःनिर्माणका मुख्य आधार हुन् । विगतमा भएका कमजोरी सच्याउँदै अहिले हामी प्राचीन शैली पछ्याइरहेका छौँ । सांस्कृतिक मूर्त सम्पदाको पुनःस्थापनामा कापाको यो महत्त्वपूर्ण योजना हो ।”
सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई भन्छन् ‚“कामपाको लगानीबाट सहरले प्राचीनस्वरूप प्राप्त गर्दैछ । यसबाट सबैले गर्व गर्नसक्ने संरचना तयार हुनेछ । हाँडीगाउँ प्राचीन शैलीमा फर्काउने गुरुयोजना अन्तर्गत हामीले काम गरिरहेका छौँ ।”
योजनाका सम्पर्क व्यक्ति वरिष्ठ इञ्जीनीयर रवीन्द्र रिजालका अनुसार पोखरी, त्यसको वरिपरी पैदलमार्ग, हरियाली प्रवद्र्धन र सडक आडमा भएका खाली ठाउँमा फल्चा, खेल्ने ठाउँलगायत संरचना हुनेछन् । त्यसमध्ये १३ हजार वर्गफिटमा पोखरी निर्माण हुनेछ । पोखरीको वरिपरी ६ फिटदेखि ८ फिटसम्मको पैदलमार्ग हुनेछ । त्यसको बाहिर कालोपत्र सडक छ ।
यसको बाहिर दक्षिणतर्फ एक सय वर्गफिट क्षेत्रफलको ३ कवलको एउटा र उत्तरपट्टी ३१७ वर्गफिट क्षेत्रफल भएको ९ कवलको एउटा फल्चा निर्माण हुनेछ । दक्षिण–पश्चिममा २९६ वर्गफिट क्षेत्रफलको प्रहरी विट निर्माण हुनेछ । यसको नजिकमा ५९० वर्गफिट क्षेत्रफल भएको भवन निर्माण हुनेछ । जसको तल्लो तलामा पर्यटक सूचना केन्द्र र माथिल्लो तलामा पुस्तकालय हुनेछ ।






