मुस्ताङ - यहाँको माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमालको पहिलोपटक पर्वतारोहण भएको छ । दक्षिण कोरियाली तीन विदेशी पर्यटकसहित आठ जनाको आरोहण टोलीले नाभेम्बर २ तारिखिमा ६२१३ मिटर उचाइमा रहेको ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ ।
माथिल्लो मुस्ताङ स्थित ‘छुआमा’ हिमाल लोमान्थाङ गाउँपालिका–४ स्थित नाम्डो गाउँबाट माथिको ५४८० मिटर उचाइको छुआमा आधार शिविर हुँदै चढ्नुपर्ने हुन्छ । दक्षिण कोरियाली पर्यटक डोङजिन, नाम्योङ र ह्निचुलसहित पाँच जना नेपाली पर्यटक गाइडहरूले छुआमा आधार शिविर हुँदै ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए ।
पहिलोपटक उपल्लो मुस्ताङमा अवस्थित तीन वटा छुआमा शिखरमध्ये छुआमा तेस्रो शिखरको आरोहण गरी कोरियाली टोली त्यहाँबाट लोमान्थाङ फर्किएको एक्याप लोमान्थाङ प्रमुख पौडेलको भनाइ छ । नोभेम्बर २ तारिखको बिहान २:०० बजे ‘छुआमा’ आधार शिविरबाट प्रस्थान गरेको पर्वतारोहण टोली १० घण्टापछि छुआमा शिखरमा पुगेको थियो ।
उपल्लो मुस्ताङबाट पहिलो पटक विदेशी नागरिकले ‘छुआमा’ हिमालको पर्वतारोहण गरेको एक्याप लोमान्थाङले जनाएको छ । यसअघि ‘छुआमा’ हिमाल पर्वतारोहणका लागि अक्टोबर १८ तारिखमा ट्रेकिङ क्याम्प नेपालको टोलीले स्थलगत निरीक्षण गरेको थियो ।
पहिलो पटक यहाँको छुआमा हिमालको सफलतापूर्वक पर्वतारोहण गरी फर्किएका तीन जना कोरियाली नागरिकसहितको टोलीलाई एक्याप लोमान्थाङले खादा लगाएर सम्मान गरेको छ । पहिलोपटक यहाँ अवस्थित छुआमा हिमालको पर्वतारोहणसँगै माथिल्लो मुस्ताङको पर्यटन प्रवद्र्धन तथा माथिल्लो मुस्ताङको हिमाल पर्वतारोहण प्रवद्र्धनमा ठूलो सहयोग पुर्याउने विश्वास गरिएको एक्याप प्रमुख पौडेलले बताए ।






