Odapalika - The Fourth Estate - चौथो अंग
आठौं सामाजिक सुरक्षा दिवसः सरकार, निजी क्षेत्र र श्रमिकका संगठनले दिए उच्च महत्त्व

काठमाडौँ । ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिकको जीवन रक्षा’ भन्ने मूल नाराका साथ आठौं सामाजिक सुरक्षा दिवस २०८२ देशभर विविध कार्यक्रम गरी भव्यताका साथ मनाइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझको रूपमा नलिन निजी क्षेत्रसँग आग्रह गरिन् । उनले श्रमिकको सामाजिक सुरक्षालाई शानको रूपमा लिन अनुरोध गरिन् ।

परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत सन्तुलन र समतामूलक बनाउन योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने बताइन् ।

‘यसको सफल कार्यान्वयनबाट नै हुनेले नहुनेलाई, धनीले गरिबलाई, निरोगीले रोगीलाई प्रणालीबद्ध रूपले सहयोग गर्ने सामाजिक ऐक्यबद्धताको सिद्धान्तमा आधारित उत्पादनमूलक समाजको निर्माण हुने रहेछ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

एकीकृत, दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरोकारवालाबाट उठान भएका विषय सम्बोधन गर्न छलफल भइरहेको जानकारी दिदै उनले भनिन्– औपचारिक क्षेत्रको अनिवार्य आबद्धताको कार्यान्वयन, अनौपचारिक क्षेत्रका श्रमिकलाई कानुनी रूपमा गर्नुपर्ने सह–योगदानमा सङ्घीय सरकारले कति गर्ने, सरकारी संयन्त्रअन्तर्गत करारमा रहेका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध भएको महसुस कसरी गराउनेलगायत विषय सम्बोधन हुने विश्वास दिलाउँछु ।’

दिन प्रतिदिन आकार बढ्दै गएको सामाजिक सुरक्षा कोषलाई राष्ट्र निर्माणमा कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा पनि गृहकार्य हुन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रत्येक श्रमिक र रोजगारदाताले जम्मा गरेको रकम सार्थक परिणाम दिने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइन् ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्करले श्रमिक–कर्मचारीका पक्षमा कोष स्थापना भएको स्पष्ट गर्दै सामाजिक सुरक्षा योजनामा आबद्धता वृद्धि र निरन्तरता तथा जनचेतना अभिवृद्धि गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । 

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष जगत सिङ्खडाले सामाजिक सुरक्षा योजनालाई अझ परिष्कृत गर्दै योगदानकर्तामैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए । सामाजिक सुरक्षा योजनाको पूर्णकार्यान्वयन नहुँदा आमश्रमिक सामाजिक सुरक्षाबाट वञ्चित हुँदै आएको उल्लेख गर्दैै अध्यक्ष सिङ्खडाले अनौपचारिक क्षेत्रका श्रमिकको योगदान रकममा साझेदारी गर्न सरकार तयार हुनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै त्यसतर्फ सरोकारवालाले गम्भीर भएर सोच्नुपर्ने बताए । सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदान रकम उचित क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिँदै कोषको सेवा ‘डिजिटलाइजेसन’ र दायरा विस्तारमा ध्यान दिन आग्रह पनि गरे ।

अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को नेपाल निर्देशक नुमान ओज्कानले नेपालमा असल श्रम सम्बन्धको वातावरण बनाउन सङ्गठनले काम गरिरहेको बताए ।

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले औपचारिक क्षेत्रका छ लाख ४९ हजार ५११, वैदेशिक रोजगारीमा रहेका १९ लाख ९६ हजार ५७९, अनौपचारिक क्षेत्रका ७९९ र स्वरोजगार क्षेत्रका ५८२ श्रमिक योजनामा आबद्ध भइसकेका जानकारी दिए ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतका राष्ट्रिय समाचार समिति, गोरखापत्र संंस्थान, सार्वजनिक प्रशारण सेवा नेपाल, प्रेस काउन्सिल नेपाल र सामाजिक सुरक्षा कोषबीच मातहतका कर्मचारीलाई सामाजिक सुरक्षामा आबद्ध गराउने बारेमा समझदारी भएको थियो ।

काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेशस्तरमा मुख्यमन्त्रीहरू र स्थानीय तहमा पालिका प्रमुखहरूको उपस्थितिमा दिवस मनाइएको हो।

२०७५ साल मंसिर ११ गते औपचारिक क्षेत्रका श्रमिकहरूबाट सुरु भएको सामाजिक सुरक्षा योजनाले आठौं वर्षसम्म आइपुग्दा ठूलो फड्को मारेको छ। कोषले २०७९ चैतदेखि वैदेशिक रोजगार, २०८० साउनदेखि अनौपचारिक तथा स्वरोजगार क्षेत्र र २०८२ वैशाख १ देखि सार्वजनिक क्षेत्र (सरकारी तथा अर्धसरकारी) लाई समेत समेट्दै सामाजिक सुरक्षाको दायरालाई सर्वव्यापी बनाएको छ।

हालसम्म ३३ वटा सार्वजनिक संस्थानहरू कोषमा आवद्ध भइसकेका छन् भने ११४ वटा स्थानीय तहले अनौपचारिक क्षेत्रका श्रमिकलाई समेट्न कोषसँग सम्झौता गरिसकेका छन्।

कोषले सार्वजनिक गरेको पछिल्लो तथ्यांक (२०८२ मंसिर १० सम्म) अनुसार हालसम्म कोषमा औपचारिक र वैदेशिक क्षेत्र गरी करिब २६ लाख ५० हजार योगदानकर्ता आवद्ध भएका छन्। जसमा औपचारिक क्षेत्रका रोजगारदाता २२ हजार ३३२, औपचारिक क्षेत्रका श्रमिक ६ लाख ५० हजार र वैदेशिक क्षेत्रका श्रमिक २० लाख छन् ।

कोषमा हालसम्म ९५ अर्ब ६८ करोड रुपैयाँ योगदान रकम संकलन भइसकेको छ। जसमध्ये योगदानकर्ताहरूलाई विभिन्न सुविधा वापत १७ अर्ब ७२ करोड रुपैयाँ भुक्तानी गरिएको छ।

कोषले औषधि उपचार, दुर्घटना, आश्रित परिवार र अवकाश सुविधा योजना अन्तर्गत अर्बौं रकम दाबी भुक्तानी गरेको छ। अवकाश सुविधा योजना अन्तर्गत मात्रै कोषले १४ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ।

संकलित रकमको सदुपयोग गर्दै कोषले ऐन बमोजिम विभिन्न क्षेत्रमा १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ। लगानीका मुख्य क्षेत्रहरूमध्ये बैंक मुद्दती निक्षेपमा ५८ अर्ब ८८ करोड, ट्रेजरी बिलमा ३२ अर्ब १८ करोड, डेभलपमेन्ट बण्डमा २१ अर्ब ७५ करोड र योगदानकर्ता सापटीमा ७ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

योगदानकर्ताहरूलाई कोषले ५.२ प्रतिशत ब्याजदरमा विशेष सापटी र ५.८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक कर्जा उपलब्ध गराउँदै आएको छ।

प्रविधिमैत्री सेवा र सम्झौता आईसीटी अवार्ड २०२४ बाट पुरस्कृत सामाजिक सुरक्षा कोषले आफ्नो सेवालाई पूर्णतः प्रविधिमैत्री बनाएको छ। हाल १०७ वटा स्वास्थ्य संस्थाहरूबाट स्वचालित प्रणालीमार्फत औषधि उपचार सेवा प्रदान भइरहेको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update