Odapalika - The Fourth Estate - चौथो अंग
नगरपालिकाका अहेवको चर्तिकलाः २४ वर्ष जागिर खाएर ३ करोड कमाए, ९० लाख भ्रष्टाचार 

काठमाडौंँ । स्याङजाको चापाकोट नगरपालिकाका सिनियिर अहेव पदमा कार्यरत विन्दु कोइरालाले सार्वजनिक पदको दुरुपयोग गरी ९० लाख रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दर्ता गरेको छ । 

२०५४ सालदेखि २०७८ सालसम्मको जागिरे अवधिमा  पारिश्रमिक आय, पैतृक सम्पत्ति, घरजग्गा बिक्री, कृषि आय, कोभिड भत्ता, कर्जा आय, दैनिक भ्रमण भत्ता, अतिरिक्त भत्ता, बुबाबाट प्राप्त रकम, बैंक व्याजबाट प्राप्त रकम, सवारी बहालबाट प्राप्त रकम, सवारी साधन बिक्रीबाट प्राप्त रकमलगायतबाट उनले  २ करोड ९७ लाख ८१ हजार ८०३ रुपैयाँ आम्दानी गरेको अख्तियारको अनुसन्धानमा उल्लेख छ । 

जागिरको यो अवधिमा उनको खर्च  भने ३ करोड ८८ लाख २१ हजार ४२२ रुपैयाँ चार पैसा देखिएको अख्तियारको दाबी छ । 

‘खर्च तथा लगानी गरेको आयभन्दा वढी भएको ९०,३९,६२०.३९ रकम ऋणात्मक देखिएको साथै जाँच अवधिको दौरान निजले गरेको खर्च, लगानी तथा सम्पत्ति आर्जनमा ९०,३९,६२०.३९ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पुष्टि भएको हुँदा सार्वनजिक पद धारण गरेका बिन्दु कोइरालाले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले ९०,३९,६२०.३९ रुपैयाँ  विगो बमोजिम जरिमाना र कैद सजाय हुन मागदावी लिइएको छ,’ अख्तियारले उनीविरुद्ध दर्ता गरेको अभियोग पत्रमा उल्लेख छ । 

कोईरालाले सार्वजनिक सेवाको पदमा रहेर पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती गीता कोइराला समेतको नाममा बैंकमा जम्मा गरेको अख्तियारको दाबी छ । 

अख्तियारले सो सम्पत्तिसमेत जफत गर्न र उनकी श्रीमतीलाई पनि कैद र जरिमाना गर्न माग गर्दै मुद्धा दायर गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update