Odapalika - The Fourth Estate - चौथो अंग
चिसोले गाउँलेहरू सहर झरे, चुमनुब्री गाउँपालिकाका उत्तरी बस्ती सुनसान

गोरखा ।  जाडो बढ्दै गएपछि हिमाली भेगका बासिन्दा सहर झर्न थालेका छन् । हिमालपारि रहेको चुमनुब्री गाउँपालिका वडा नं. १ र वडा नं. ७ का बासिन्दा बिगतबर्ष जस्तै अहिले पनि जाडो छल्न धमाधम सहर झर्न थालेका स्थानीयबासीको भनाइ छ ।

‘अहिले ८० प्रतिशत गाउँलेहरु काठमाडौं झरिसके । २० प्रतिशत मात्र बाँकी छन्, तीचाहिँ घर कुर्न बसेका हुन्’, चुमनुब्री ७ छेकम्पारका पासाङफुञ्जो लामा भन्छन्, ‘अहिले हरेक घरमा एकेक जनामात्र घर कुर्न बसेका होलान् ।’ घरमा बसेकाले खेतीपाती र बस्तुभाउको रेखदेख गर्ने उनको भनाइ छ । गाउँमा रहेकाहरुले छरछिमेक तथा आफन्तहरुको घरको पनि रेखदेख गरिदिने उनले बताए ।

जाडो बढेपछि मंसीर दोस्रो सातातिर लेकको चरन र खर्कहरुमा राखिएका चौरीहरु गाउँमा झारिएको छ । याकभने हिमाली क्षेत्रको चरनमै छन् । ‘याककोचाहिँ भुत्ला बाक्लो हुने भएकाले लेकमै छाडिन्छ । चौँरीलाई भुत्ला पातलो भएकाले गाउँमा ल्याएर आफ्नै घरमा राखिन्छ’, सोही वडाका वडाअध्यक्ष टासी लामा भन्छन्, ‘ती चौँरी स्याहार गर्नका लागि पनि घरघरमा एकेक जनाचाहिँ बस्छन् । अरु सबै सहर झर्छन् । घरमा बसेकाले वरिपरि छरछिमेक र इष्टमित्रको घरको पनि रेखदेख गर्ने गर्छन् ।’

चुमनुब्री १ मा पनि बस्ती खालि हुन थालेको छ । तिब्बत सीमाना नजिक पर्ने साम्दो गाउँ खालि हुन थालेको स्थानीयबासीको भनाइ छ । यहाँका करिब ४५ घरधुरीमध्य दस, पन्द्र घरबाहेक सबै घरका बासिन्दा ताला लगाएर सहर झरेका स्थानीय वाङचुक लामाले जानकारी दिए । ‘धेरै घरहरु खालि भइसकेका छन्’, उनले भने, ‘एकदुईबाहेक होटलहरु पनि बन्द भएका छन् ।’

जाडो बढेपछि चुमनुब्री २ को ल्हो माविका विद्यार्थीलाई आरुघाट गाउँपालिका ४ को कोखेटारमा सारिएको छ । आउँदो चैतसम्मका लागि विद्यालय नै तल स्थानान्तरण गरिएको त्यहाँका प्रधानाध्यापक बाबुराम धमला बताउँछन् । गाउँलेहरु पनि प्राय सहर झरिसकेका छन् । उत्तरी गोरखाका सबैजना वौद्ध धर्मावलम्बी हुन् ।

उनीहरु सहर झरेका बेला तीर्थाटनका लागि धर्मशाला, लुम्बिनी तथा विभिन्न धर्मगुरुको समीपमा जाने गर्छन् । ‘धेरैजसो तीर्थ गर्न जान्छन् । कोहीकोही काठमाडौंमा पढ्ने छोराछोरीसंग घुमफिर गरेर समय बिताउँछन्’, चुमनुब्री ७ निलेका लोप्साङ लामा भन्छन्, ‘हाम्रातिरचाहिँ घरमा ढोका लगाएर सबै सहर झर्दैनन् । कम्तिमा पनि प्रत्येक घरमा एकेक जना घर कुरुवा बस्छन् ।’ अहिले सहर झरेकाहरु सहरमै ग्याल्बो ल्होसार मानेर गाउँ फर्कने उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update