चुमनुब्री गाउँपालिकाले संकलन गर्‍यो २ करोड राजस्व, तीन वर्षमा कसरी बढी यति धेरै ?

 

काठमाडौँ । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकाले चालु आर्थिक वर्षमा २ करोड १८ लाख रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सो रकम बराबरको राजस्व संकलन गरेको प्रमुख प्रकासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए ।

उनका अनुसार ३ वर्षअघि जम्मा ११ लाख १२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको उक्त गाउँपालिकाले गत आर्थिक वर्षमा १ करोड ४९ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । 

मनासलु क्षेत्र भ्रमण गर्न आउने पर्यटकबाट भ्रमणबापतको शुल्क उठाउन थालेपछि गाउँपालिकाको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको प्रमुख प्रशासकीय अधिकृत लामिछानेले बताए ।

गाउँपालिकाले गत आवबाट मनास्लु आउने पर्यटकबाट शुल्क लिन थालेको हो । प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले शुल्क उठाउने गरेको लामिछानेले जानकारी दिए । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा अन्तरिक राजस्वबापत जम्मा २७ लाख १४ हजार रुपैयाँ सङ्कलन गरेको थियो ।

‘पर्यटन शुल्कसँगै गाउँपालिकाले नदीजन्य सामग्री उत्खननबापतको कर सङ्कलनलाई पनि व्यवस्थित बनाएको छ । पहिले चिट काटेर कर उठाइन्थ्यो, जसले राजस्व चुहावट हुने जोखिम बढी हुन्थ्यो । अहिले भने अनलाइनमार्फत नै कर सङ्कलन सुरु गरेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत लामिछानेले भने ।

यस्तै गत वर्षबाट मात्रै गाउँपालिकाले पालिकाको कार्यालयमै व्यवसाय दर्ता गर्ने तथा प्यान नम्बर उपलब्ध गराउन सुरु गरेको छ । यसले पनि राजस्व वृद्धिमा थप सहयोग पुर्याएको छ । 

पर्यटनबापतको कर सङ्कलन गर्न सुरु भएसँगै पालिकाको राजस्व उल्लेखनीय रूपमा वृद्धि भएको गाउँपालिकाका अध्यक्ष निमा लामा बताउछन् । 

‘आगामी वर्षमा तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य छ । जति धेरै राजस्व सङ्कलन गर्न सक्यो, सङ्घबाट त्यति नै बजेट बढेर आउँछ । राजस्व बढ्दा पालिकाको आर्थिक विकासमा सहयोग पुग्छ,’ अध्यक्ष लामाले भने ।

पर्यटन शुल्कबाट धेरै राजस्व सङ्कलन भएकाले सो राजस्व पनि पर्यटन क्षेत्रको पूर्वाधार निर्माणमा धेरै प्रयोग गर्ने अध्यक्ष लामाको भनाइ छ ।

 

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update