चुमनुब्री गाउँपालिकाले किसानलाई तरकारीको बीउ वितरण गर्ने, नागरिकता नभए नपाइने

 

काठमाडौँ । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकाले किसान तथा कृषि समुहलाई तरकारीको बीउ वितरण गर्ने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले दिएको जानकारी अनुसार गाउँपालिकाको चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत किसान तथा कृषि समूहलाई तरकारीको बीउ वितरण गर्ने लागिएको हो ।

यसको लागि गाउँपालिकाको कृषि विकास शाखाले सूचना नै जारी गरेको छ । सूचनामा गाउँपालिकाभित्रका इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी, कृषि तथा पशुपन्छी फार्मलगायत सम्बन्धित संस्थाले बीउ प्राप्त गर्न आवेदन दिन सक्नेछन्।

कार्यक्रमअन्तर्गत प्याज, मुला, गाजर, बन्दा, काउली, काँक्रो, फर्सी, रायो र धनियाँ लगायतका तरकारीका बीउ वितरण गरिने जनाइएको छ। बीउ प्रतिबाली २० ग्रामको प्याकेटका रूपमा वितरण गरिने सूचनामा उल्लेख छ।

बीउ लिन इच्छुक कृषक तथा समूहले नेपाली नागरिकताको प्रमाणपत्र, समूहरसहकारीरकृषि तथा पशुपन्छी फार्ममा आबद्ध भएको विवरण, सम्बन्धित संस्थाको प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्रलगायत आवश्यक कागजात पेश गर्नुपर्नेछ।

गाउँपालिकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात् २०८३ साल साउन १२ गतेभित्र कृषि विकास शाखामा आवेदन तथा आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ। तोकिएको समयभित्र प्राप्त आवेदनका आधारमा बीउ वितरण गरिने गाउँपालिकाले जनाएको छ।

कृषकलाई तरकारी खेतीतर्फ प्रोत्साहित गर्दै स्थानीय उत्पादन बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। इच्छुक कृषक तथा समूहलाई समयमै आवेदन दिन गाउँपालिकाले अनुरोध गरेको छ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update