गोरखा । चुमनुब्री गाउँपालिका २ ल्होका छिरिङ धार्के लामाले मनास्लु पदमार्गको पहिरोको भिडियो सामाजिक सञ्जाल(फेसबुक)मा राख्दै प्रश्न गरेका छन्, ‘गाउँपालिकाले पदमार्ग मर्मतसम्भार गर्न भन्दै पर्यटकसंग करोडौं राजस्व उठायो भन्छन् । ड्याङभन्दा मुनि, न्याकफेदीभन्दा माथिको पहिरो कसले बनाउने हो ? यहाँको पहिरोमा पुरिएर बर्खामा विदेशी पर्यटकको मृत्यू भएको थियो ।
यहाँ पहिरो गएर बाटो बिग्रिएको पाँच महिना भइसक्यो । अब त अर्को टुरिस्ट सिजन पनि सुरु हुन लाग्यो । कहिले बनाउने हो ?’
छिरिङमात्र होइन, मनास्लु क्षेत्रका बासिन्दा सदरमुकाम आउँदा–जाँदा जब जोखिमपूर्ण पहिरो कट्न उँभो भिरतिर हेर्दै दौडिन्छन्, तब यी ठाउँहरुमा सुरक्षितपूर्वक हिँडडुल गर्न कहिले पाइएला भन्ने कल्पना गर्छन् । पदमार्ग मर्मत सम्भार गर्न भन्दै गाउँपालिकाले पर्यटकसंग कर संकलन गर्नेगर्छ । संकलित करोडौं रुपैयाँले किन चाँडै बाटो मर्मतसम्भार नभएको होला भन्ने प्रश्न आपसमा गर्ने गर्छन् ।
गत साउनयता पाँच महिनाको अवधिमा आठ हजार बिदेशी र एक हजार स्वदेशी पर्यटकसंग गाउँपालिकाले ८२ लाख १६ हजार राजश्व संकलन गरिसकेको छ । तर पदमार्ग भने मर्मतसम्भार गरेको छैन । ‘पहिरो झरेर टुरिस्ट पुरिएको केही दिनपछि गाउँलेहरुले काम चलाउ बाटो खोलेका थिए । यहाँ अहिले एक पाइला मात्र टेक्न मिल्ने साँगुरो छ’, छिरिङ भन्छन्, ‘यही पहिरोेमा एक महिनाको अवधिमा दुईवटा खच्चड लडेर गण्डकीमा परिसक्यो । फाट्टफुट्ट विदेशी पर्यटक पनि हिँडिरहेका छन् ।
स्थानीयबासी र कर्मचारीहरु पनि नियमित हिडिरहेकै छन्’, छिरिङ धार्के लामा भन्छन्, ‘अब अर्को स्प्रिङ सिजन आउन लागिसक्यो, बाटोको अबस्था जस्ताको तस्तै छ । पर्यटकसंग राजस्व उठाएपछि त पर्यटक हिँड्ने बाटो खुरुखुरु बनाए हुन्थ्यो । किन ढिला भइरहेको छ ?’ मिठा–मिठा भाषण गर्नुभन्दा स्थानीयबासी र पर्यटक दिनहूँ हिड्ने बाटोलाई सुरक्षित बनाउनु पर्ने उनको जोड छ ।
गत बर्खायाममा न्याकफेदीभन्दा माथि, ड्याङसम्म तीन ठाउँमा पहिरो झरेका थिए । काम चलाउका लागि जतोतसो खोलिएका ती पहिरोहरु अहिले पनि जस्ताको तस्तै रहेको स्थानीयबासीको गुनासो छ । ‘मनाङतिर पनि यस्तै पहिरो जान्छ, तर त्यहाँ त केही दिनभित्रै मर्मतसम्भार गरेर जस्ताको तस्तै बनाइदिन्छन् । हाम्रो यहाँ त यत्तिका महिना भइसक्यो’, स्थानीय चन्द्र गुरुङ भन्छन्, ‘ठेक्का लगाउने भन्छन् । प्रक्रियामा जाँदा महिनौ लाग्छ । जनता हिँड्ने बाटो त अल्लि फास्ट ट्रयाकमा बनाए नि हुन्थ्यो ।’ आफूले बेलाबेला यस्तै सुझाव दिने गरेको उनको भनाइ छ ।
चुमनुब्री ३ का वडाअध्यक्ष रामकुमार गुरुङले त्यहाँको अबस्थाको बारेमा बुझेर समस्या छिट्टै सम्बोधन गर्ने प्रयास गर्ने बताए ।






