Odapalika - The Fourth Estate - चौथो अंग
डा. शेखर कोइराला भन्छन्ः कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई रोक्न सकेनौँ 

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थ रोक्न नसकिएको बताएका छन् ।

विशेष महाधिवेशन गरेर गगन थापा, विश्वप्रकाश शर्मा लगायत युवा नेताले बेग्लै नेतृत्व गठन गरेपछि नेता कोइरालाको यस्तो प्रतिक्रिया आएको हो ।

नेता कोइरालाले एक व्यक्तव्य जारी गर्दै पार्टी विभाजनका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

यस्तो छ उनको धारणा  

साथीहरु,

कांग्रेसलाई एकतावद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन । यसको पछाडी को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न । हामी सबै कही न कही चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन । 

यस विचमा घटेका कैयन घटनाहरुको साक्षी भएकोले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिका वारे मूल्यांकन गर्ने जिम्मेवारी म इतिहाँसमा सुम्पन्छु । 

दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यस विच गुज्रियौँ । राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ ।  

कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनु पर्छ भन्नेमा सबैको ईमान्दार प्रयास थियो । तर त्यसो हुन सकेन । यस कठिन घडीमा हामीले स्मरण गर्नुपर्ने हाम्रा महामानव श्रद्धेय नेता विपी कोइरालालाई हो । 

विपी कोइरालालाई जीउ ज्यानको बाजी लगाएर साथ दिने लाखौं साथीहरु पार्टीमा अविचलित भएर लोकतन्त्रको संघर्षमा अथकित भै संघर्षरत रहे, तर केही व्यक्ति र समुह विपीलाई छाडेर गए । उहाँ यसलाई नियतिको खेल भन्नुहुन्थ्यो । 

विपी कोइराला नियतिमा विश्वास गर्नुहुन्थ्यो । म आज यतिखेर कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नुलाई पनि त्यही नियतिको कठोर सत्य भनेर बुझ्‌छु । 

अब हाम्रा सामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो कांग्रेस इतिहाँसको गौरवलाई जोगाउने जिम्मेवारी छ । यस कठिन घडीमा कांग्रेसको संगठनात्मक उर्जा प्रस्फुटन भएर मात्र हामी इतिहाँसले र हाम्रा अग्रज नेताहरुले दिएको जिम्मेवारी पुरा गर्न सक्छौँ ।

यसको लागि सम्पुर्ण कांग्रेस एकताको खाँचो अहिले अपरिहार्य भएको छ । तसर्थ, साथीहरु कांग्रेस पार्टी आम कार्यकर्ता साथीहरुले निर्माण गरेको पार्टी हो, हाम्रा साझा इतिहाँस छन, साझा नेता र शहिदहरु छन । हामी यिनैको प्रेरणाबाट नेपाल र नेपालीको साझा भविष्यको कल्पना गर्न सक्छौँ । 

हामी यही पार्टीमा बसेर नेपालको भविष्य निर्माण गर्नुपरेको छ । हाम्रा अग्रज नेताहरु र शहिद हुनुभएका साथीहरु हाम्रा प्रेरणाका स्रोत हुन । 

नेपाली जनताले गरेको भरोसा र विश्वासलाई आम मतदाताले विगतमा पार्टी विभाजनको कारण प्रभावित हुन दिएका थिएनन् । आज एकपटक फेरी तपाई हामी हाम्रा सबै अग्रज नेताहरुको मार्ग दर्शनबाट र शहिदहरुको बलिदानलाई सम्झेर नेपाली जनताको समृद्धिको यात्रामा जनताको घर दैलोमा भोट माग्न जानु परेको छ । समय छोटो छ, तर पनि यथासम्भव तपाईहरुको घर आंगनमा कांग्रेसको चुनावी अभियानमा म आउने कोशिस गर्दछु । 

पार्टी भित्र गर्नुपर्ने सुधारका प्रकृया रोकिने छैनन् । म आह्वान गर्छू स् हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं । यहाँ जीतहार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ । जय नेपाल । 

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update