कांग्रेसले भन्यो– जेन–जीको बलिदानको सम्मान गरौँ, आयोगको सिफारिस कार्यान्वयन गरौँ

 

काठमाडौँ । नेपाली कांग्रेसले जेनजीको बलिदानको सम्मान गर्न र राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न माग गरेको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले एक विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् । जेन–जी विद्रोह भएको एक वर्ष पूरा भएको सन्दर्भमा उनको यस्तो भनाई सार्वजनिक भएको हो ।

उनले जेनजी विद्रोहको ऐतिहासिक आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण जेन–जी युवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण युवाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

कर्तव्यपालनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति आङदेम्बेले सम्मान व्यक्त गरेका छन् ।

‘एक वर्षअघि जेन–जी युवाहरू भ्रष्टाचार, बेथिति, नातावाद, कुशासन र निराशाविरुद्ध सडकमा उत्रिएका थिए । उनीहरूको आवाज केवल सरकार परिवर्तनका लागि थिएन । उनीहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता, रोजगारी र अवसरसहितको नयाँ राजनीतिक संस्कार खोजेका थिए,’ आङदेम्बेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले २३ भदौमा शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा घुसपैठ गरी हिंसात्मक बनाउन उक्साउने, तत्कालीन सरकारबाट भएको अत्यधिक बल प्रयोग र त्यसपछि २४ भदौमा भएको आगजनी, तोडफोड तथा विध्वंसले मुलुकमा ठूलो जनधनको क्षति पुगेको बताएका छन् ।

‘यी घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरी शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन उक्साउने,  घुसपैठ गर्ने, अत्यधिक बल प्रयोग गर्ने तथा २४ भदौमा विध्वंस मच्चाउने सबै पक्षमाथि कारबाहीका लागि सिफारिस गरिसकेको छ । यद्यपि, प्रतिवेदनमा पनि केही पात्रलाई जोगाउने गरी सत्ता नेतृत्वबाटै कैँची चलाइएको आशंका गर्ने ठाउँ देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनले सो प्रतिवेदन गौरीबहादुर कार्की आयोगको भन्दा विश्वसनीय रहेको उल्लेख गरेका छन् ।

‘राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गरी त्यसमा गरिएका सिफारिसलाई पूर्णरूपमा कार्यान्वयनमा लैजानुपर्छ । घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान र कानुनी कारबाही हुनुपर्छ,’ उनले भनेका छन् ।

२३ भदौको अत्यधिक बल प्रयोगमा जिम्मेवार हुने जोसुकै भएपनि कानुनको दायरामा ल्याइनु पर्ने काँग्रेसको भनाइ छ । 

त्यसैगरी २४ भदौको विध्वंस, आगजनी, तोडफोड, सार्वजनिक तथा निजी सम्पत्तिको विनाश र हिंसामा संलग्न तथा आन्दोलनमा घुसपैठ गरी त्यसलाई हिंसात्मक बनाउन भूमिका खेल्ने व्यक्ति वा समूहलाई पनि उन्मुक्ति दिनु हुँदैन भन्ने उनको भनाइ छ ।

‘कसैलाई राजनीतिक संरक्षण वा सत्ताको प्रभावका आधारमा उन्मुक्ति दिन मिल्दैन । राज्यशक्तिको दुरुपयोग गर्ने होस् वा आन्दोलनको नाममा कानुन हातमा लिएर देशलाई विध्वंसतर्फ धकेल्ने–सबै कारबाहीको दायरामा आउनुपर्छ । चाहे ती सत्ता शक्तिको नेतृत्वमै किन नहुन् । यो नेपाली कांग्रेसको स्पष्ट धारणा हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले जेनजी विद्रोहको एक वर्ष पूरा भएको सन्दर्भमा प्रधानमन्त्रीसँग केही प्रश्न पनि गरेका छन् ।

‘आज जेन–जी विद्रोहको एक वर्ष पूरा भएको दिनमा प्रधानमन्त्रीजीलाई मेरा केही प्रश्न छन्– जेन–जीले खोजेको परिवर्तन आयो ? तपाईं नेतृत्वको सरकारको पाइला जेन–जीले चाहेको स्वप्नरूपी देश निर्माणतर्फ छ ? भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता कहाँ हरायो ? सुशासन कहाँ छ ?  पारदर्शिता कहाँ छ ? युवाका लागि रोजगारी कहाँ छ? विदेश पलायन रोक्ने ठोस कार्यक्रम कहाँ छ ? सार्वजनिक पदमा हुने नियुक्तिमा योग्यता र पारदर्शिता कहाँ छ ? यी प्रश्नको जवाफ चाहिन्छ,’ उनले सोधेका छन्  ।

कांग्रेसले जेन–जीको बलिदानलाई सत्तामा पुग्ने भर्योङका रूपमा प्रयोग गरेर उनीहरूले उठाएका मूल प्रश्नलाई बेवास्ता गर्ने अधिकार वर्तमान सरकारलाई नभएको दाबी गरेको छ ।

‘सरकारले आफूलाई जेन–जी आन्दोलनको राजनीतिक उपलब्धिको प्रतिनिधि ठान्छ भने उसले सबैभन्दा पहिले आफ्नै शासनशैली जेन–जीको मूल्य, मान्यता र अपेक्षासँग मेल खाने प्रमाणित गर्नुपर्छ । अरू दललाई गाली गर्नु सजिलो थियो । अब आफ्नै सरकारको कामको हिसाब जनतालाई दिनुपर्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update