काठमाडौँ । विशेष महाधिवेशन पक्षले आफूहरु आधिकारिक कांग्रेस भएको दाबी गर्दै निवेदन दर्ता गरेपछि १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा पक्ष पनि निर्वाचन आयोगमा गएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा पुस २७ देखि ३० गतेसम्म काठमाडौँकाृे भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले गगन थापाको सभापतित्वमा सबै पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । सोही अनुसारको विवरण अद्यावधिक गरिदिन भन्दै माघ १ गते विशेष महाधिवेशन पक्ष निर्वाचन आयोग गएको थियो ।
तर, देउवा पक्षले सो विशेष महाधिवेशन अवैधानिक रहेको भन्दै पार्टीले विशेष महाधिवेशन नगरेको जानकारी गराउन निर्वाचन आयोग गएको हो । विशेष महाधिवेशन पक्षबाट सभापति गगन थापासहितको टोली निर्वाचन आयोग गएको थियो भने देउवा पक्षबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरु आयोग गएका छन् ।
आयोग गएका देउवा पक्षका नेताहरूमा पूर्णबहादुर खड्का, शेखर कोइराला, रमेश लेखक, विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरूङ, धनराज गुरूङ, मीनेन्द्र रिजाल, महालक्ष्मी उपाध्याय, सुजाता कोइराला, एनपी साउद, नैनसिंह महर, जीतजंग बस्नेत लगायत छन्।





