काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द कानुनी लडाई र सडक संघर्ष दुबैमा केन्द्रीत हुने देखिएको छ ।
सभापति शेरबहादुर देउवा पक्षले पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै पार्टीको विधान र विद्यमान कानुन अनुसार आफूहरु नै आधिकारिक कांग्रेस भएको बताउदै सो अनुसार आधिकारिकता नपाए आन्दोलन गर्नुको विकल्प नहुने बताएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् ।
यता महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा भएको विशेष महाधिवेशन पक्षधरले भने निर्वाचन आयोग घेरेका छन् । विशेष महाधिवेशनमा सर्वसम्मत सभापति घोषणा गरिएका गगन थापासहितका नेताहरु निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरिरहदा बाँकी नेता कार्यकर्ताहरुले आयोग घेरेका हुन् ।
यी दुई पक्षको गतिविधि हेर्दा उनीहरु कानुनी र सडक संघर्षलाई एकसाथ अघि बढाउने गृहकार्यमा रहेको देखिएको छ ।







