काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालबालिकाहरुमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न विद्यालयहरुमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
यसको प्रारम्भ ४ वटा सामुदायिक विद्यालयहरुमा नमूना कार्यक्रममार्फत हुनेछ । महानगरले साना डाक्टर सम्बन्धी १ दिने कार्यशाला आयोजना गरी यसको अवधारणा, कार्यक्रम सञ्चालन रणनीतिका विषयमा छलफल भएको छ ।
कार्यशालामा जनप्रतिनिधिहरु, शिक्षा तथा स्वास्थ्य समितिका पदाधिकारी, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र हेर्ने महानगरपालिकाका विभागीय प्रतिनिधि, विद्यालय नर्ससहित साझेदार सहभागी थिए ।
कार्यशालामा बोल्दै महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले, स्वास्थ्य सचेतना अभिवृद्धि गर्न र बालबालिकाबीचको सहसिकाइका लागि यो विधि उपयुक्त भएको धारणा राखिन् ।
‘विद्यालयमा कार्यक्रम लैजाँदा कार्यान्वयन गर्नेलाई बोझ महसुस हुने गरी लैजानु हुँदैन । आवश्यक छ, जसरी पनि कार्यान्वयनमा जानु पर्छ भन्ने तत्परता जागृत गराउनुपर्छ । अनि मात्र कार्यक्रम दिगो र प्रभावकारी हुन्छ । यसको नतिजा ढिलो देखिन्छ । तर, सकारात्मक हुन्छ,’ उनले भनिन् ।
यो कार्यक्रमलाई सामुदायिक विद्यालयहरुमा सफल बनाएर संस्थागत विद्यालयहरुमा पनि विस्तार गर्नुपर्ने कार्यबाहक मेयर डंगोलको भनाइ छ ।
महानगरको शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले किशोर किशोरीको आत्मविश्वाल बढाउने प्रकृतिका कार्यक्रम जरुरी भएको बताए ।
‘सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सकारात्मक प्रतिस्पर्धाका लागि आत्मविश्वाशयुक्त बनाउनु पर्नेछ । यसका लागि पुस्तकरहित शुक्रबारका कार्यक्रमभित्रका कार्यक्रमको प्रभावकारी सिकाइका लागि थप मिहनेत गर्नुपर्नेछ,’ उनले भने ।
कार्यशालामा स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीले नमूना कार्यक्रमबाट प्राप्त पृष्ठपोषणका आधारमा वृहत कार्यक्रम तर्जुमा गरिने बताए । विद्यालयहरुमा संचालन गरिएको यो कार्यक्रम पहिलो हुन सक्ने बताउँदै उनले कार्यक्रमलाई नतिजामुखी बनाउन जरुरी भएको बताए ।
क्षेत्रगत पृष्ठपोषण दिने क्रममा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले बालमैत्री स्थानीय शासनका लागि विभागले विद्यालयहरुमा क्लव बनाउनु पर्ने कार्यक्रमका बारेमा कुरा गर्दै, स्वास्थ्य विभागसँग मिलेर काम योजना सुनाइन् ।
शिक्षा अधिकृत केशव ज्ञवालीले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकलाई कार्यक्रमका सुक्ष्म पक्ष बुझाउन सके मात्र कार्यान्वयनमा सहज हुने धारणा राखे ।
विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्यका विषयमा प्रशिक्षित गराएर स्वास्थ्य दूतका रुप विकास गर्ने कार्यक्रमलाई साना डाक्टर कार्यक्रम दिइएको हो । विद्यार्थी आफू, परिवार र समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने कार्यक्रमको लक्ष्य हो । स्वास्थ्य विभागका मेडिकल अधिकृत डा. दिवश न्यौपानेले यो कार्यक्रममा व्यक्तिगत सरसफाइ र स्वच्छता, पोषण, जीवनशैली र नसर्ने रोग, सरुवा रोग र एन्टीमाइक्रोवियल रेसिस्टेन्स, प्राथमिक उपचार र सुरक्षा तथा मानसिक स्वास्थ्य र नेतृत्व गरी ५ वटा विषयमा प्रशिक्षण प्रदान गरिने बताए ।
सहपाठी बालबालिकाबिचको आपसी सिकाइ, प्रयोगात्मक र भूमिका निर्वाह, अभिलेख र अनुगमन सिकाइका मुख्य विधि हुन् । पाठ्यक्रममा आधारित ३ महिना तालिम दिएपछि बाँकी ९ महिना विद्यार्थीहरुलाई समूहगत रुपमा निरोगात्मक स्वास्थ्य प्रवर्धनका कार्यक्रम सञ्चालन गर्न दिइने महानगरले जानकारी दिएको छ ।
एउटा स्वास्थ्य क्लवमा १५ जनादेखि २० जनासम्म छात्रछात्रा राखिनेछ ।







